रौतहट, २० जेठ । राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

शनिबार रौतहटमा आयोजित एक समारोहका बीच नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र गरुडा नगरपालिकाका मेयर कन्तमणि जयसवालले संयुक्त रूपमा राससका अध्यक्ष झालाई पुरस्कार प्रदान गरेका हुन् ।

कोरोना संक्रमणका कारण गत २०७८ साल वैशाख २९ गते पत्रकार मनोज चौधरीको निधन भएको थियो । उनको स्मृतिमा नेपाल पत्रकार महासंघ रौतहट शाखाद्वारा २०७९ सालमा नगद २५ हजार राशिसहितको पुरस्कार स्थापना गरेको शाखा सभापति प्रेमचन्द्र झाले बताए ।

कार्यक्रममा अध्यक्ष झाले पत्रकारितामा शुद्धीकरण जरुरी रहेको बताउँदै संस्थागत गरिमालाई कायम राख्न आफू अध्यक्ष हुँदा पनि शुद्धीकरण गर्न पहल गरिएको जानकारी दिए ।