जनकपुरधाम, २० जेठ । ४० वर्ष मुनीका उदाहरणीय काम गर्ने युवा उद्यमीहरुको संस्था ‘नेपाली युवा उद्यमी मञ्च जनकपुर च्याप्टर–२०८०’ को नयाँ कार्यसमिति चयन गरिएको छ ।

जनकपुरधामस्थित मोनाष्टिक आवासिय माध्यमिक विद्यालयका प्रबन्ध निर्देशक डा.सोनु साहको नेतृत्वमा सो कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

शनिबार जनकपुरधाममा आयोजित मञ्चको जनकपुर च्याप्टरको तेस्रो वार्षिक साधारणसभाबाट निवर्तमान प्रथम उपाध्यक्ष डा.साहले नयाँ नेतृत्वको अवसर पाएका छन् ।

नवगठित कार्यसमितिको प्रथम उपाध्यक्षमा रोहन गुप्ता, दोस्रो उपाध्यक्षमा अमित झा र सदस्यहरुमा राजिव कुमार रौनियार, प्रमोद कुमार साह, रविन्द्र प्रकाश साह, संजु नायक, मधुकर साह र एमडी रहमानलाई चयन गरिएको छ ।

‘नेपाली युवा उद्यमी मञ्च जनकपुर च्याप्टर–२०८०’ को नयाँ कार्यसमितिमा १० जना साधारण सदस्यहरु समेत चयन भएका छन् । यस संस्थाको देशभरमा १२ वटा च्याप्टर रहेको र यसले युवा उद्यमी तथा उद्यमशिलता विकासका लागि काम गर्दै आएको मञ्चका केन्द्रि अध्यक्ष रितेश लामिछानले जानकारी दिए ।

देशमा व्याप्त रहेको युवा पलायन रोकेर विश्वभरका साझेदार संस्थाहरुसँगको समन्वयमा उनीहरुलाई स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्न मञ्चले काम गरिरहेको प्रथम उपाध्यक्ष सहारा जोशीले बताए ।

कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले युवा उद्यमीहरुलाई कृषि र पर्यटनतर्फ पनि ध्यान दिन आग्रह गरे । जनकपुर च्याप्टरकी निवर्तमान अध्यक्ष रुपा महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झालगायतकाहरुले शुभकामना मन्तव्य राखेका थिए ।