एमाले सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले गर्न सकेन : केपी ओली

काठमाडौं, २० जेठ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले पनि गर्न नसकेको बताएका छन् ।
पार्टीको विज्ञान तथा प्रविधि विभागले शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कुनै व्यक्ति नभई सिंगो समाजलाई माथि उठाउनका लागि आफूहरुले समृद्धिको एजेण्डालाई अघि बढाएको तर्क समेत गरे ।
ढिलो होइन, छिटो विकास गर्नका लागि आफूहरुले समृद्धिको एजेण्डालाई अघि बढाएको दाबी गर्दै उनले भने, ‘समृद्ध नेपाल भनेको मैले भन्ने गरेको छु नि यो एउटा खरबपति र अर्कोचाहिँ मजदुर उनीहरु दुईवटाको सम्पत्ति मिलाउँदाखेरी एउटाले वार्षिक ४० अर्ब मुनाफा कमायो भने अर्कोले लसमा छ भने पनि २०–२० अर्ब कमाएको देखियो नि त । कमाएको एकजनाले मात्रै हो । एभरेजमा त्यस्तो देखिए पनि बढी त गरिब छ नि । त्यसकारण त्यो रियल डेटा होइन ।’
उनले थपे, ‘हामीले गर्न खोजेको मानव विकास हो । समाजको विकास हो । र, सिंगै समाजलाई माथि उठाउने हो । र, मानव समाजलाई मानव बस्न लायकको उत्तरदायी, भविष्यप्रति जिम्मेवार, विनाशकारी होइन, जिम्मेवार विकास । ढिलो होइन, छिटो विकास ।’
विज्ञान र प्रविधिको प्रयोग गरेर गरिबी छिटो अन्त्य हुने गरी काम गर्न जरुरी रहेको अध्यक्ष ओलीले बताए । सम्पूर्ण जनसंख्यालाई विकास, निर्माणको प्रक्रियामा सहभागी गराउन पनि नेपालले विज्ञान र प्रविधिको प्रयोगमा ध्यान केन्दित गर्नुपर्ने उनको भनाइ छ । कृषि उत्पादनलाई स्वस्थ बनाउने कुरामा पनि प्रविधिलाई उपयोग गर्नुपर्ने अध्यक्ष ओलीले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


