सयौँपटक चुनाव हार्न तयार छु, तर निष्पक्षता र संवैधानिक मूल्यमान्यता बिर्सन सक्दिन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, २० जेठ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यले थालेको अनुसन्धान खेर नजाने बताएका छन् । शनिबार काठमाडौंमा स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धान स्वतन्त्र र निष्पक्ष रूपमा गरी दोषीमाथि कारबाही हुने बताउँदै उनले आफू राम्रो काम गरेँ भनेर विश्राम गरेर नबस्ने बताए । उपप्रधानमन्त्री श्रेष्ठले सुशासनको बाधकका रूपमा जुनसुकै पार्टीको नेता पनि भ्रष्टाचार र अनियमिततामा फेला परे कारबाही गर्न पछि नहट्ने बताए ।
आफ्नै पार्टीका नेताहरु पनि भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने कारबाही गर्न पछि नहट्ने र त्यो बेला आश्चर्यमा पर्न आवश्यक नरहेको उनको भनाइ छ । कसैले बढुवा, सरुवाको निम्ति अनियमितता गरेर रकम दिने र लिनेलाई नै जेल हाल्ने उनले बताए ।
उनले आफू सयौँपटक चुनाव हार्न तयार रहेको, तर निष्पक्षता र संवैधानिक मूल्यमान्यता बिर्सिन नसक्ने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


