काठमाडौं, २० जेठ । सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले बचत फिर्ताको माग राख्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । सहकारीबाट ठगिएका पीडितहरु एक हुँदै सहकारीमा राखेको बचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै शनिबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

सहकारी वचतकर्ता पीडितहरुले सहकारीहरुले खाएर भागेको बचत फिर्ताका लागि स्थानीय तहदेखि केन्द्र सरकारका निकायका ढोकामा पुग्दा समेत बचत फिर्ता नभएको भन्दै धर्ना तथा प्रदर्शनमा उत्रिएको बताए । संघर्ष समिति अध्यक्ष सुनितासिंह राजभण्डारीले सहकारीको बचत फिर्ताको लागि राज्यका सबै निकाय धाउँदा कतै पनि सुनुवाइ नहुँदा संयुक्त रुपमा पीडितहरु सडक आन्दोलनमा आएको बताइन् ।

सरकारसँग सहकारी पीडितहरुको माग सहकारीहरुलाई नियन्त्रण गर्ने एउटा मात्रै निकाय बनाउनुपर्ने र सहकारीहरुले बनाउने निजी ऐन बन्द गर्नुपर्ने रहेको बताइन् । सहकारीमा बचत गरेको लाखौं रुपैयाँ सहकारीले खाएर भागेपछि पीडितले सडक आन्दोलनमार्फत न्याय माग्न बाध्य भएको उनको भनाइ छ । काठमाडौं महानगरपालिका, वडा कार्यालय र प्रदेश सरकारसम्म न्याय माग्न जाँदा सुनुवाई कतैबाट पनि नभएको भन्दै उनले अहिले १०० भन्दा बढी सहकारीमार्फत ठगिएका बचतकर्ताहरु एक ठाउँमा रहेको दाबी गरिन् । बाटोमा दिनभर मकै पोल्ने, भारी बोकेर सहकारीमा जम्मा गरेको पैसा फिर्ता नदिएको भन्दै उनले कुनै कालोधन जम्मा नगरेको बताइन् ।

पीडितहरुले सडकमा रगत पसिनाले कमाएको पैसा फिर्ता गर, बचतकर्ता रकम अविलम्व फिर्ता गर, आमा नागरिकको बचत फिर्ता गर, सहकारी सञ्चालकको सम्पत्ति तत्काल रोक्का गर, सहकारीहरुलाई राष्ट्र बैंकको निगरानीमा राख्ने व्यवस्था गर, सम्पूर्ण ठग सहकारीलाई कारबाही गर, सरकार हामीलाई न्याय दे, फरार सहकारी सञ्चालकको तत्काल खोजी गर, हिजोको दिनमा यहाँ छौं, त्यहाँ छौं भन्ने नेताहरु आज कहाँ छन् ? सहकारीको पारले दुःख पाए बचतकर्ताले भन्ने प्लोकार्डसहित नारा लगाई प्रदर्शन गरेका थिए ।