–बरुणा कर्ण
जनकपुरधाम, २० जेठ । राष्ट्रपति रामचन्द्र पौडेल जेठ ३१ गते जनकपुरधाम आउन लागेका छन् ।

नागरिकता विधेयक प्रमाणीकरण गरेपछि जनकपुरधाम आउन लागेका राष्ट्रपति पौडेललाई यहाँ भव्य स्वागत गरिने भएको छ । त्यसका लागि शनिबार यहाँ नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको पहलमा सर्वदलीय बैठकसमेत बसेको थियो ।

जनकपुरधाम उपमहामनगरपालिकाद्वारा आयोजित सर्वदलीय बैठकमा सहभागिहरुले तिरहुतिया गाछि मैदानमा राष्ट्रपति पौडेललाई भव्य स्वागत र नागरिक अभिनन्दन गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।

बैठकमा नेता निधिले राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर मात्र जनकपुरधाम आउने अठोट लिएको र सोहीअनुरुप उनी जनकपुरधाम आउन लागेको जानकारी दिए । नागरिकता विधेयक प्रमाणीकरण गरेर नागरिकताविहीन लाखौं युवाहरुको समस्या समाधान गरि आउन लागेका उनको जनकपुरधामवासीले भव्य स्वागत गर्नुपर्ने उनले बताए ।

उनले भने, ‘नगर प्रमुख मनोज साहजीको समेत उपस्थिती रहेको राष्ट्रपतिजीसँगको भेटमा नागरिकता विधेयक प्रमाणीकरण गरेर मात्र मधेश जाने वहाँले भन्नु भएको थियो । वहाँले जनतालाई कुनै पनि मर्का नपर्ने गरि व्यवस्था मिलाउनसमेत हामीलाई भन्नु भएको थियो ।’

प्रदेशसभा सदस्यद्वय रामसरोज यादव र दीपेन्द्र ठाकुरले राष्ट्रपति पौडेलको जनकपुरधाम भ्रमण सुखद रहेको र यसलाई भव्य एवम् व्यवस्थित बनाउन आफूहरु प्रदेश सरकारलाई समेत यसमा सहभागी गराउन पहल गर्ने बताए ।

नगर प्रमुख मनोजकुमार साहले धनुषाबाट निर्वाचित सबै सांसदहरुलाई सम्मिलित गरेर मुल समिति बनाई त्यसको अधिनमा अन्य उपसमितिहरु पनि गठन गरेर राष्ट्रपति पौडेलको जानकी मन्दिरको दर्शन, पूजापाठ देखि तिरहुतिया गाछिमा हुने स्वागत तथा नागरिक अभिनन्दनका लागि तयारी गर्ने सर्वसम्मत निर्णय भएको बताए ।

जनकपुरधाम विमानस्थलदेखि जानकी मन्दिर र मन्दिरदेखि पुनः तिरहुतिया गाछिसम्म पुग्ने क्रममा सडकको दुवै छेउमा राष्ट्रिय झण्डासहित उभिएर नागरिक अभिन्दन गर्न सबै दलले आ–आफ्नो कार्यकर्ता परिचालन गर्ने सहमति भएको छ ।

बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, उद्योग वाणिज्य संघ जनकपुरधामका अध्यक्ष जितेन्द्र महासेठसहित हरेक दलका नेता कार्यकर्ता र नागरिक अगुवाहरुको समेत उपस्थिती रहेको थियो ।