चुरे अभियानीहरू ७औँ दिन पनि धर्नामा

जनकपुरधाम, २० जेठ । पर्साको वीरगञ्जबाट ११ दिनसम्म पैदल यात्रा गरेर काठमाडौंको माइतीघर मण्डला पुगेका चुरे तथा वनजङ्गल संरक्षण अभियानीहरु शनिबार ७औँ दिन धर्नामा बसेका छन् ।
वीरगञ्जको सिर्सिया नदीलाई प्रदूषण र अतिक्रमणमुक्त बनाउन दूषित पानी लिएर ११ दिनसम्म पैदल यात्रा गर्दै काठमाडौं पुगेका अभियन्ताहरु सात दिनदेखि धर्नामा बसेका हुन् ।
दशकौँदेखि प्रदूषण र अतिक्रमणको चपेटमा परेको सिर्सिया नदीको विषयमा पटकपटक आवाज उठ्दा पनि सरकारले यसतर्फ ध्यान नदिएपछि आफूहरु धर्नामा बसेको चुरे तथा वनजङ्गल संरक्षण अभियानका संयोजक सुनिल यादवले जानकारी दिए । उनले माग सम्बोधन नभएसम्म अनिश्चितकालीन धर्ना जारी रहने बताएका छन् ।
जेठ ४ गते वीरगञ्जको शङ्कराचार्यद्वार नजिकैबाट सिर्सिया नदीको दूषित पानी बोत्तलमा भरेर चुरे तथा वनजङ्गल संरक्षण अभियानका संयोजक सुनिलकुमार यादव र संरक्षक सरोज राय यादवको नेतृत्वमा ३५ जनाको टोलीले काठमाडौँसम्मको पैदल यात्रा सुरु गरेको थियो ।
धर्नामा नेपाल सरकारका उद्योग मन्त्री रमेश रिजाल, जसपा नेता तथा संघिय सांसद प्रदिप यादव, कांग्रेसका नेता तथा संघिय सांसद अजय चौरसीया, एमालेका नेता तथा संघिय सांसद राजकुमार गुप्ता, काठमाण्डौबाट नर्वाचित विराजभक्त श्रेष्ठ लगायतले एक्यवद्धता जनाइसकेका छन् ।
सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन औद्योगिक क्षेत्रबाट निस्कने फोहोर नदीमा खसाउन बन्द गर्नुपर्ने अभियन्ताहरूको मुख्य माग रहेको छ । अभियन्ताहरूले सिर्सिया नदीलगायत देशभरका अन्य नदीलाई प्रदुषणमुक्त र अतिक्रमणबाट बचाउन उच्चस्तरीय नदी संरक्षण बोर्डको स्थापना गर्न माग गरेका छन् । त्यसैगरी विभिन्न स्थानमा वन क्षेत्रको जग्गाहरू उद्योगले कब्जा गरेको भन्दै त्यसलाई फिर्ता गरी वन क्षेत्रलाई हस्तान्तरण गर्न समेत माग गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


