काठमाडौं, १९ जेठ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफूले गर्न लागेको काममा काठमाडौं महानगरका मेयर बालेन साहले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री बस्नेतले आफू भित्रभित्रै गर्न लागेको काममा मेयर साहले हस्तक्षेप गरेको आरोप लगाएका हुन् ।

‘मन्त्रालयमा आएदेखि मैले भित्रभित्र स्वास्थ्य संस्थाहरूले १० प्रतिशत शय्या छुट्याएर निःशुल्क उपचार गरेको विवरण अस्पतालमा छ कि छैन भनेर अनुगमन गर्ने योजना बनाएको थिएँ । त्यसको लागि मैले अनुगमनमा बालेनलाई पनि बोलाएको थिएँ‚ आउनुभएन तर उहाँ मसँग भेटेर बाहिर निस्किएपछि सामाजिक सञ्जालमा हल्ला गर्नुभएछ’‚ मन्त्री बस्नेतले भने ।

मंगलबार मेयर बालेनले विपन्न र लक्षित वर्गलाई सेवा दिएको विवरण नबुझाउने अस्पताललाई कारबाही गर्न स्वास्थ्यमन्त्रीसँग भेटवार्ता गरेका थिए । त्यसक्रममा उनले महानगरलाई १० प्रतिशत विपन्न र लक्षित वर्गलाई सेवा दिएको विवरण उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाको नाम उपलब्ध गराएका थिए ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाले स्वास्थ्य संस्था सञ्चालन मापदण्डअनुसार विपन्न एवं लक्षित वर्गलाई दिनुपर्ने कुल शय्याको १० प्रतिशत छुट्याई निःशुल्क उपचार नगरेको भन्दै उनले स्वास्थ्यमन्त्री बस्नेतलाई भेटेर कानुन बमोजिम नगरेको भन्दै ती संस्थाको नाम दिँदै ७ दिनभित्र कानुनी दायरामा ल्याउन ध्यानाकर्षण गराएका छन् ।

त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड, २०७७ दफा ७० (घ) अनुसार विपन्न, असहाय, बेवारिस बिरामीका लागि कुल शय्याको १० प्रतिशत छुट्याई निःशुल्क उपचार अनिवार्य गराउनुपर्ने व्यवस्थाअनुसार गर्न परिपत्र गरेको छ ।