काठमाडौं, १९ जेठ । चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मध्यप्रदेशको इन्दोरमा रहेको फोहोर व्यवस्थापन केन्द्रको अवलोकन गरेका छन् ।

सो क्रममा इन्दोर नगर निगमको प्रमुख कार्यकारी अधिृकत हर्षिका सिंहले फोहोर व्यवस्थापन प्रक्रियाका बारेमा जानकारी गराएका थिए । उनले स्रोतबाट नै ६ भागमा विभाजन गरेर फोहोरको व्यवस्थापन हुँदै आएको बताए ।

कुल १ अर्ब ५० करोड भारतीय रुपैयाँ लगानी रहेको सो केन्द्र सञ्चालनमा आएको एक वर्ष पुगेको छ । केन्द्रमा फोहोर व्यवस्थापनका लागि मासिक १ करोड १५ लाख भारतीय रुपैयाँ खर्च हुँदै आएको प्रमुख कार्यकारी अधिृकत सिंहले जानकारी दिए ।

सो केन्द्रले फोहरलाई व्यवस्थित गरेर आम्दानीसमेत गर्दै आएको छ । केन्द्रले मासिक ३ करोड ७५ लाख भारतीय रुपैयाँ आम्दानी गर्ने उनको भनाइ छ । उक्त प्लान्टबाट ग्याससमेत उत्पादन हुँदै आएको छ । ती ग्यास इन्दोर शहरमा चल्ने सवारी साधानमा प्रयोग गरिँदै आइएको छ ।

केन्द्रको अवलोकनपश्चात प्रधानमन्त्री दाहालले नेपालबाट प्राविधि पठाइ फोहोर व्यवस्थापनको सफल अभ्यासको अध्ययन गर्न लगाउने बताए ।

स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर नगर निगमले फोहोर व्यवस्थापनमा गरेको काम विश्वमै नमूनायोग्य मानिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू निर्वाचित भएपछि स्वच्छ भारत अभियान सुरु गरेका थिए ।

प्रधानमन्त्री दाहाल केन्द्रको अवलोकन गर्न शुक्रबार बिहान भारतको राजधानी नयाँ दिल्लीबाट मध्यप्रदेशको इन्दोर पुगेका हुन् । इन्दोर विमानस्थलमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरेका थिए । प्रधानमन्त्री दाहालको सम्मानमा आजै मुख्यमन्त्री चौहानले रात्रिभोजको आयोजना गरेका छन् ।

प्रधानमन्त्री दाहाल शनिबार स्वदेश फर्कने कार्यक्रम छ । उनी भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा यही १७ जेठमा भारत भ्रमणमा निस्किएका थिए ।