मधेस प्रदेशसभा : शुक्रबारको बैठकमा शून्य समयमा कसले के भने ?

जनकपुरधाम, १९ जेठ । मधेस प्रदेशका प्रदेशसभा सदस्य विणा देवी शर्माले समानुपातिक सांसदले पनि प्रत्यक्ष निर्वाचित सांसद जस्तै बराबर बजेट पाउनु पर्ने माग गरेकी छन् ।
शुक्रबार बसेको प्रदेशसभा बैठकको शून्य समय बोल्दै प्रदेशसभा सदस्य शर्माले यस्तो माग गरेकी हुन् ।
उनले प्रत्यक्ष निर्वाचित सांसदले संसदीय विकास कोषमा पाउँदै आएको ३ करोड रुपैयाँ समानुपातिकले पनि पाउनु पर्ने माग गरिन् ।

त्यस्तै, प्रदेशसभा सदस्य शम्भु कुमार साहले आफूहरुको क्षेत्रमा कुन योजनामा कति रकम गएको छ त्यसको जानकारी उपलब्ध गराउन माग गरेका थिए । प्रदेशका १३६ वटै पालिकाको नाम आ–आफ्नो विविधताको हिसाबले राखिएकोमा आगामी आर्थिक वर्षको बजेटमा पालिकाहरुको नाम झल्काउने खालका योजना राख्न उनले माग गरे ।

शून्य समयमै प्रदेशसभा सदस्य शारदा देवी थापाले सरकारले विकासको बाटो खोजेको हो कि विनाशको बाटो रोजेको हो भन्दै प्रश्न गरिन् । उनले फर्छयौट हुन बाँकी रहेको रकम भुक्तानी गर्न किन आनाकानी भइरहेको छ भन्दै प्रश्न गरिन् ।
उनले भनिन्, ‘कि दिन्न भन्नुपर्यो, कि दिन्छु भन्नुपर्यो । दिने हो भने कहिलेसम्म त्यो मिति तोकिनुपर्यो । नदिने हो भने के कारण हो खुलाईदिनु पर्यो । यसरी उपझोक्तालाई अन्यौलमा राखेर प्रदेश सरकारले फेरि ल्याउन लागेको बजेट बेकार हुनेछ । पहिले फर्छयौट होस् ।’

प्रदेशसभा सदस्य सकिल अली मियाले आफूहरुले उठाएको एउटा पनि सवालको जवाफ सरकार पक्षबाट नपाएकोमा आक्रोश व्यक्त गरे । उनले विगतमा १५, २५ बेडको अस्पताल सञ्चालनका लागि सरकारले रकम विनियोजन गरेपनि काम अझै अधुरो रहेको बताए । उनले सरकारको बजेट कार्यान्वयन हुनुपर्ने माग गरे ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


