मधेस प्रदेशका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत स्वीकृत

जनकपुरधाम, १९ जेठ । मधेस प्रदेशसभाको शुक्रबार बसेको बैठकमा मधेस प्रदेशका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत स्वीकृत भएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभामा पेस गरेपछि सामान्य छलफलपश्चात् सर्वसम्मत स्वीकृत गरिएको हो ।
मुख्यमन्त्री यादवले प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ को नियम १०७ को उपनियम १ बमोजिम मधेस प्रदेशका केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
विधेयकमाथि छलफलको क्रममा आ–आफ्नो विचार राख्दै प्रदेशसभा सदस्यद्वय रामअशिष यादव र रानी शर्मा तिवारीले संशोधन विधेयक उपयुक्त रहेकोले पास हुनुपर्ने र यसमा सबैजनालाई सहमति जनाउन आग्रह गरेका थिए । प्रदेशसभा सदस्य तिवारीले केही अन्य विधेयकहरु पनि रहेको र त्यसमा पनि संशोधनको आवश्यकता रहेको बताउँदै संसदीय विकास कोष र प्रदेश सभा कार्यसञ्चालन विधेयकमा पनि संशोधन गर्न सुझाब दिइन् ।
सभामुख रामचन्द्र मण्डलले सो प्रस्तावलाई सभामा निर्णायार्थ प्रस्तुत गरेपछि सर्वसम्मत स्वीकृत भएको घोषणा गरियो ।
यसअघि बुधबारको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवको तर्फबाट शिक्षा तथा समाज कल्याण मन्त्री महेशप्रसाद यादवले नेपालको संविधानको धारा २९५ को उपधार २ बमोजिम प्रदेशसभाको दुईतिहाई बहुमतबाट पारित भई प्रदेशको नामाकरण ‘मधेस प्रदेश’ कायम भएको र सभामुखबाट २०७८ माघ ३ गते प्रमाणीकरणसमेत भइसकेकोले ‘मधेस प्रदेश’ नामाकरण गर्नुभन्दा अघि सभाले बनाएको सम्पूर्ण ऐनमा ‘प्रदेश नम्बर २’ को सट्टा ‘मधेस प्रदेश’ शब्दाबली राख्न प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ को नियम १०६ को उपनियम २ बमोजिम मधेस प्रदेशका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक सभामा पेश गरेका थिए ।
प्रदेशसभाको अर्को बैठक आइतबार बिहान ११ बजे बस्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


