जनकपुरधाम, १९ जेठ । मधेस प्रदेशका अर्थमन्त्री संजयकुमार यादवले विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकता प्रदेशसभामा प्रस्तुत गरेका छन् ।

शुक्रबार बसेको प्रदेशसभाको पहिलो अधिवेशनको १७औं बैठकमा अर्थमन्त्री यादवले प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ को दफा ९ को उपदफा १ बमोजिम विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकतामाथि छलफलका लागि सभामा प्रस्तुत गरेका हुन् ।

विनियोजन विधेयक प्रस्तुत गर्दै मन्त्री यादवले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट दिगो, फराकिलो एवम् समावेशी आर्थिक बृद्धिदर हासिल गर्ने, सेवा प्रवाहमा सुधार र स्रोत साधनको परिचालनमा प्रभावकारिता कायम गर्नेतर्फ लक्षित हुने दाबी गरे ।

उनले कोभिड–१९ को प्रभाव युक्रेन, रसिया युद्ध विश्वको आर्थिक परिदृष्यमा केही आन्तरिक कारणले गर्दा आर्थिक गतिविधिमा संकुचन हुन गई मुलुकको अर्थतन्त्र दबाबमा रहेको वर्तमान अवस्थामा आफूले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेको स्मरण गर्दै चालू आर्थिक वर्षमा उत्पादन, व्यापार एवम् निर्माण क्षेत्र सुस्ताएकोले आर्थिक वृद्धि न्यून हुने देखिएको बताए ।

मन्त्री यादवले लक्ष्य अनुरुप राजश्व परिचालन हुन नसकेको बताउँदै सरकारी खर्चको प्राथमिकिकरण हुन नसक्दा साधनस्रोत छरिने गरी विनियोजन गर्ने र आर्थिक वर्षको अन्त्यतिर खर्च गर्ने प्रवृति कायमै रहेको जिकिर गरे । साधारण खर्चमा वृद्धि हुँदै गएको र आयोजना कार्यान्वयन कमजोर हुँदा पूँजिगत खर्च न्यून हुनुका साथै खर्चको प्रभावकारिता बढ्न नसकेको उनले सुनाए ।

सरकारको वित्त सन्तुलनमा चाप बढेको र न्यून कुल ग्रार्हस्थ बचत मुद्रास्फिती उतारचढावयुक्त पूँजिबजार, बढ्दो व्याजदर, कमजोर पूँजि निर्माण, निरन्तरको उच्च व्यापार घाटा, बैंकिङ क्षेत्रमा खराब कर्जाको जोखिम जस्ता चूनौतिहरु अर्थतन्त्रमा विद्यमान रहेको अर्थमन्त्री यादवले बताए ।

file:///C:/Users/Admin%201/Downloads/%E0%A4%B5%E0%A4%BF%E0%A4%A8%E0%A4%BF%E0%A4%AF%E0%A5%8B%E0%A4%9C%E0%A4%A8-%E0%A4%B5%E0%A4%BF%E0%A4%A7%E0%A5%87%E0%A4%AF%E0%A4%95-%E0%A5%A8%E0%A5%A6%E0%A5%AE%E0%A5%A6-%E0%A4%95%E0%A5%8B-%E0%A4%B8%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%A7%E0%A4%BE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4-%E0%A4%B0-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%A5%E0%A4%AE%E0%A4%BF%E0%A4%95%E0%A4%A4%E0%A4%BE-Copy1%20(2).pdf