काठमाडौं, १९ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामना गर्दै उज्जैनस्थित महाकाल बाबाको मन्दिरमा विशेष पूजा गरेका छन् ।

शुक्रबार मध्य प्रदेशको भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड बिहान नयाँ दिल्लीबाट इन्दौर हुँदै उज्जैन पुगेका हुन् । उनले महाकाल बाबाको गर्भ गृहमा पत्नीको स्वास्थ्यलाभको कामनासहित विशेष पूजा गरेका छन् ।

विशेष पूजा समारोहमा मध्य प्रदेशका राज्यपाल मंगुभाई पटेल पनि उपस्थित थिए । भारतीय अधिकारीहरूका अनुसार मन्दिरका शासकीय पुजारी पण्डित घनश्याम शर्माले प्रधानमन्त्री प्रचण्डबाट विशेष पूजा गराएका हुन् ।

महाकालेश्वर दर्शनका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालबाटै लगेको १०० रुद्राक्ष र नगद ५१ हजार रुपैयाँ चढाएको बताइएको छ ।