सिन्धुली, १९ जेठ । मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ । शुक्रबार जीप नदीमा खस्दा जीपमा सवार तीनजना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको जीप काठमाडौंबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको थियो ।

शुक्रबार बिहान ११ बजे स्कार्पियो खस्दा बेपत्ता भएका तीनजनाको पहिचान खुलेको छ । भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी) बाट खोटाङ जाने क्रममा स्कार्पियो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुन नभघाटबाट सुनकोशी नदीमा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार स्कोर्पियोमा चारजना सवार रहेकोमा चालक दाङ राप्ती गाउँपालिका–६ का ३१ वर्षीय कृष्ण चौधरी पौडी खेली बाहिर निस्कन सफल भएका थिए भने बाँकी तीनजना अझै बेपत्ता छन् ।

बेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका–९ घर भइ सिटिइभिटीको सानोठिमीस्थित कार्यालयका प्रशासन शाखाका निर्देशक सहसचिव कृष्णबहादुर केसी, पूर्वीनवलपरासी प्रगति नगरपालिका–७ का घर भइ हाल योजना महाशाखाका निर्देशक यमप्रसाद घुर्तेल रइलाम फुयतया नगरपालिका–५ घर भइ हाल विद्युत् प्रशिक्षकका रुपमा कार्यरत भानु पौडेल रहेका छन् ।

सडकबाट गाडी करिब १ सय ५० मिटर तल रहेको सुनकोशी नदीमा खसेको थियो । घाइते चालक चौधरीको मुख र हातमा चोट लागेको र उनको हाल शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

स्कार्पियो अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । बेपत्ताको खोजी भइरहेको नायब उपरीक्षक दाहालले जानकारी दिए ।