काठमाडौं, १९ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हित विपरीतका निर्णय हुँदा पार्टी कमजोर बन्ने बताएका छन् ।उनले अहिले केन्द्रदेखि स्थानीय तहसम्म कांग्रेस सरकारमा भए पनि २०८४ सालको चुनाव हारिने डर देखिएको समेत बताएका छन् ।

शुक्रबार काठमाडौंमा भएको नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठानको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले रेशम चौधरीलगायतको आममाफी, नागरिकता विधेयक र सांसद विकास कोषजस्ता अलोकप्रिय विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा एक्लैले निर्णय गरेको भन्दै त्यस्ता निर्णयले पार्टी कमजोर बन्ने बताए ।

कांग्रेससमेत सहभागी रहेको सरकारले एक पछि अर्को गलत क्रियाकलाप गरिरहेको भन्दै महामन्त्री थापाले अब पार्टीमा हुने त्यस्ता निर्णयमा सहेर नबस्नेसमेत बताएका छन् ।

नागरिकता विधेयकको प्रमाणीकरण प्रक्रिया, नागरिक उन्मुक्ति पार्टीका नेता चौधरीलाई आममाफी लगायतका कार्य गलत भएको थापाको भनाई छ । पार्टीले हित विपरीत निर्णय गर्न नहुने उनले बताए ।