जनकपुरधाम, १९ जेठ । जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम र बजेटका लागि सुझाव संकलन थालेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आगामी असार १० गतेभित्र नगरसभामा पेस गरिसक्नुपर्ने छ ।

यसैका लागि बजेट निर्माण अघि रायसुझाव संकलन थालिएको नगर प्रमुख मनोजकुमार साहले बताए । बजेटलाई स्थानीय आवश्यकता र माग अनुसार प्रभावकारी बनाउन सुझाव माग गरिएको उनले बताए । पालिकाको प्राथमिकताका विषय पहिचानमा सहजता, जनताको चाहना र भावना बुझ्दै बजेटलाई यथार्थपरक बनाउन रायसुझाव माग गरिएको साहले बताए ।

जेठ २० गते शनिबारसम्म उपमहानगरमा रायसुझाव पेस गर्न पालिकाले सार्वजनिक सूचना जारी गरेको छ ।

जिल्लाका १८ वटै पालिका यतिबेला नीति, कार्यक्रम र बजेटको पूर्वतयारीमा जुटेका छन् । उनीहरूले स्थानीयसित रायसुझाव माग गरेका छन् ।

कृषि उत्पादन वृद्धि गरी स्वरोजगार सिर्जना गर्ने, गुणस्तरीय शिक्षा कायम गर्ने, भौतिक पूर्वाधारलाई पहुँच र गुणस्तर कायम गर्ने गरी पालिको रायसुझाव माग गरेको ति तथा कार्यक्रम आवश्यक पर्ने हो सोही अनुसार सुझाव माग गरिएको उपप्रमुख किशोरी साहले बताए ।

‘पालिकाले मुख्यगरी आर्थिक क्रियाकलापमा जनतालाई जोड्ने, शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धि गर्ने जस्ता विषयलाई प्राथमिकता दिने लक्ष्य छ’, उनले भने, ‘यसैलाई आधार मानी आगामी आर्थिक वर्षको नीति ,कार्यक्रम र बजेटमा राय सुझाव माग गरेका छौँ ।’

आगामी आर्थिक वर्षको नीति ,कार्यक्रम र बजेटमा मुख्य गरि रोजगार सृजन गर्ने खालका विषयलाई जनकपुरधाम उपमहानगरपालिकाले प्राथमिकता दिन लागिएको प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशीले बताए । उनले आगामी बजेटमा आर्थिक क्रियाकलापमा नागरिकलाई जोड्दै विकास निर्माणका कामलाईसमेत अघि बढाउने विषय प्राथमिकतामा पर्ने जानकारी दिए ।

उनले भने, ‘जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमलाई नागरिक अपेक्षामा आधारित बनाउने प्रयास थालेको छ । यसका लागि कुन कुन क्षेत्रमा कस्ता नीति बनाउनु पर्ला ? भन्ने विषयमा हामीले नागरिकको सुझाब संकलन थालेका छौं ।’

जनकपुरधाम उपमहानगरपालिकाले पूर्वाधार (सडक/ढल, भवन लगायत पूर्वाधार) मर्मत, सम्भार तथा निर्माण, सामाजिक सुरक्षा, बालबालिका, ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्ति, आन्तरिक राजस्व दर र दायरा, कला, साहित्य, संगीत, संस्कृतिक, पर्यटन, पूर्वाधार र प्रवर्धन, शैक्षिक क्रियाकलाप र शैक्षिक गुणस्तर वृद्धि, स्वास्थ्य क्षेत्र र आधारभूत स्वास्थ्य सेवा, कृषि, पशुपंछी, उद्यमशिलता, युवा तथा रोजगार, कानून, न्यायिक प्रणाली, न्याय प्रशासन, मेलमिलाप, इजलास (प्रमूख–उपप्रमूख न्यायिक) र असल शासन र कुशल प्रशासनलगायतको नीति निर्माणका लागि नगरबासीसँग राय सुझाब माग गरेको छ ।