जनकपुरधाम, १८ जेठ । विभिन्न मितिमा पक्राउ परेका चोरीको घटनामा संलग्न रहेका १३ जनालाई जिल्ला प्रहरी कार्यालय धनुषा सार्वजनिक गरेको छ ।

बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

चालु आर्थिक वर्ष २०७९÷८० मा हालसम्म चोरीका घटनामा पक्राउ परेका ५०९ जनामध्ये चोरी घटना मुद्दा र चोरी घटनामा पक्राउ परेपनि अभद्र व्यवहार मुद्दा दर्तामा गरी १३१ जनालाई कारागार पठाइएको छ ।

पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका चोरी आरोपमा पक्राउ परेकाहरु सुनका गरगहना, मोटरसाइकल, साइकल र मोबाइल चोरी घटनामा संलग्न रहेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाले परिचालन गरेको २५ सदस्यीय टोलीको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको खडकाले जानकारी दिए । उनले जेठ १० गतेसम्म चोरीको आरोपमा पक्राउ परेकामध्ये एकजना धरौटीमा छुटेको, ३ जना करागार चलान भएको जानकारी दिदै बाँकी २३ जनासहित हाल पक्राउ परेका १३ जना गरी ३६ जना अनुसन्धानको क्रममा रहेको उनले बताए । विभिन्न मिति बरामद गरिएका १३ वटा मोटरसाइकलसमेत सार्वजनिक गरिएको छ ।

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ७ सय फरार प्रतिवादीलाई पक्राउ गरी ६७ लाखभन्दा बढी रकम जरिवाना र साढे ७ करोड रुपैयाँ भन्सार चोरी निकासीबाट बरामद गरिएका सामानबाट राजश्व संकलन गरिएको उनले बताए ।

धनुषामा चालु आर्थिक वर्षमा हालसम्म ४३८ वटा चोरीका घटनाहरु भएकोमा ९९ वटा घटनामा मुद्दा दर्ता भएको र पिडीतले जाहेरी दिन नमानेपछि चोरीका घटनालाई अभद्र व्यवहार मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको उनले बताए ।