काठमाडौं, १८ जेठ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदमाथिको नांगो प्रहार भएको बताएका छन् ।

नेम्वाङले राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण हुनु जनताको अधिकारमाथि र संसदमाथि नांगो प्रहार भएको बताएका हुन् ।

उनले नागरिकता विधेयकलाई प्रमाणीकरण गरेर संविधान, कानुन, स्थापित अभ्यास र संसदीय परिपाटीले नचिनेको बाटो हिँड्ने काम भएको टिप्पणी गरे । उनले संसदलाई छेउ पार्ने काम गरिएको भन्दै यस्तो गर्नु गलत भएको बताए ।

उपाध्यक्ष नेम्वाङले अघिल्लो प्रतिनिधि सभाको कार्यकालमै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रमाणीकरणका लागि पेस हुँदासमेत १५ दिनभित्र प्रमाणीकरण नगरेको उल्लेख गर्दै विधेयक उति बेलै निष्क्रिय भएको बताए ।

निष्क्रिय भएको विधेयकलाई मन्त्रिपरिषद्ले प्रमाणीकरणका लागि सिफारिस गर्न नमिल्ने उनको तर्क छ । त्यस्तै नयाँ प्रतिनिधि सभा समेत आइसकेको अवस्थामा संसदबाट सभामुख र राष्ट्रिय सभा अध्यक्षले सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्थाको समेत उल्लङ्घन भएको उनले बताए ।

उनले नागरिकता प्रमाणीकरणको विषयलाई लिएर एमाले जनताको जाने पनि बताए । यो विषय संसदमा पनि उठाउने उनले बताए ।