काठमाडौं, १८ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुवै खुट्टा गुमाएका हरि बुढामगरले सगरमाथाको आरोहण गर्नु देशको लागि गर्वको विषय भएको बताएका छन् ।

बिहीबार निजी निवास धुम्बाराहीमा पार्टीको तर्फबाट मगरलाई सम्मान गर्दै उनले दुवै खुट्टा गुमाएर पनि हरेस नखाइकन सगरमाथाको सफल आरोहण गर्नु महत्वपूर्ण कुरा रहेको बताएका हुन् ।

देउवाले दुवै खुट्टा गुमाएर पनि सगरमाथाको सफल आरोहण गर्नु कुनै पार्टीको मात्रै नभइ देशका लागि गर्वको कुरा भएको बताए ।

‘दुवै खुट्टा गुमाएर पनि उहाँले हरेस नखाइकन हिमाल चढेर, सगरमाथाको टुप्पोमा पुगेर आउनुभयो । उहाँलाई धेरैलाई यस बखत सहयोग गर्नुभयो । सम्पूर्ण नेपाली जनता र हाम्रो पार्टीको तर्फबाट शुभकामना । उहाँको थप जीवन उन्नती होस् । यो अत्यन्त महत्वपूर्ण सफलता हो । यो हाम्रो पार्टी र देशका लागि गर्वको कुरा हो,’ देउवाले भने ।

सम्मान ग्रहणपछि बोल्दै आरोही बुढामगरले अबको आफ्नो काम शारीरिक अशक्त भएकाका लागि बाधा पर्ने कानूनहरुको अड्चन फुकाउनु रहेको बताए । उनले सरकारले शारीरिक अशक्त भएकाहरूलाई सरकारले कानुनमा सहजता दिए आफ्नो सहयोग सदैव सरकारप्रति रहेको प्रतिबद्धता जनाए ।