जनकपुरधाम, १८ जेठ । सगरमाथा आरोहणमा गएका जनकपुरधामका रञ्जित कुमार साह सम्पर्कविहीन भएका छन् ।

रञ्जित केहिदिन पहिला सगरमाथा आरोहणका लागि गएका थिए । ८ हजार ७०० मिटर सफल आरोहण गरिसकेका रञ्जितको त्यसपछि जिपिएस ट्रयाकर अफ हुँदा सम्पर्कमा नआएको उनका दाइ बैद्यनाथ साहले बताए । उनी क्याम्प ४ भन्दा केही माथिबाट सम्पर्कविहीन भएका हुन् ।

रञ्जितको अवस्थाको बारेमा खोजबिन गरिदिन परिवारजनले सम्बन्धित पक्षसँग आग्रह गरेका छन् । रञ्जितका दाइ बैद्यनाथ दुई दिनदेखि काठमाडौंमा छन् ।

रञ्जित यसअघि पनि २०७६ सालमा जनकपुरधामबाट साइकलबाट यात्रा गरी १९ दिनमा एभरेष्ट बेस क्याम्प पुगेका थिए ।

२०७६ भदौ ९ गते यात्रामा निस्केका साह २८ गते विहान ९ बजे साइकलसहित सगरमाथाको आधार शिविर पुगेका थिए । उनी काठमाडौं, दोलखा, उदयपुर, ओखलढुगां हुँदै सोलुखुम्बु पुगेका थिए । नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न उनले सो यात्रा गरेका थिए ।

साइकलमै एभरेष्ट बेस क्याम्पसम्म पुगेका साहले सोहिबेला आफू सगरमाथा आरोहण गर्ने बताएका थिए ।

रञ्जित त्यसअघि २०७५ सालमा जनकपुरधामबाट पाथिभरासम्म साइकल यात्रा गरेका थिए । रञ्जितले साइकलबाटै भारत उत्तर प्रदेशको अयोध्यासम्मको यात्रा पनि गरेका थिए ।

रञ्जितले जनकपुरधामदेखि ताप्लेजुंगको पाथिभारासम्मको ४३२ किलोमिटरको यात्रा विभिन्न ठाउँमा वास बस्दै पूरा गरेका थिए । उनले पहिलो पटक साइकल यात्राको शुरूवात २०७२ सालमा पशुपतिनाथको यात्रा गरेर तय गरेका थिए । उनी साइकलबाट सिन्धुली हुँदै एकदिनमै २२० किलोमिटरको यात्रा तय गरेका थिए ।

पशुपतिनाथको यात्रापछि हौसिएका रञ्जित त्यसपछि साइकल यात्रालाई निरन्तरता दिँदै जनकपुरधामदेखि हलेशी महादेवसम्मको १७७.३ किलोमिटरको यात्रा गरे । त्यसपछि उनले जनकपुरधामदेखि ५४०.३ किलोमिटरको मुक्तिनाथसम्मको यात्रासमेत साइकलबाट नै गरिसकेका छन् ।