नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा मधेस प्रदेशसभामा राष्ट्रपति पौडेललाई धन्यवादको ओइरो

जनकपुरधाम, १७ जेठ । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेपछि मधेस प्रदेशसभाको बुधबार बसेको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवादको ओइरो लागेको छ ।
विधेयक प्रमाणीकरण गरेपछि खुशी व्यक्त गर्दै राष्ट्रपति पौडेललाई मधेसका अधिकांश सांसदहरुले धन्यवाद दिएका हुन् ।
मधेस प्रदेशको लागि लडाईकै विषय रहेको नागरिकता विधेयक र त्यो विषयलाई राष्ट्रपतिले प्रमाणीकरण गरी मधेसका जनताका लागि न्याय गर्नुभएको छ । विशेष गरी महिलाहरुको अझ बढी समस्या थियो । त्यसैले, सम्मानीय राष्ट्रपति ज्यूलाई धन्यवाद र आभार व्यक्त गर्न चाहन्छौ । बैठकमा धेरैले यस्तै अभिव्यक्ति दिदै राष्ट्रपतिलाई धन्यवाद दिएका थिए ।
बैठकको शुन्य समयमा बोल्ने अधिकांश सांसदहरुले राष्ट्रपतिलाई धन्यवाद दिएरै आफ्नो भनाई टुंग्याएका थिए । यसअघि संघीय संसद्बाट दुई पटक पारित भएर पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले त्यसबेला प्रमाणीकरण नगरेर रोकिदिएको नागरिकता विधेयक प्रमाणीकरण भएपछि मधेसमा उनलाई सबैले धन्यवाद दिइरहेका छन् ।
प्रदेशसभा सदस्य उपेन्द्र महतोले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा राष्ट्रपतिलाई धन्यवाद दिँदै जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउने बाटो खुला भएको बताए । प्रदेशसभा सदस्य उर्मिला देवी सिंहले रेशम चौधरीलाई आममाफी र नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा राष्ट्रपतिलाई धन्यवाद दिइन् ।
प्रदेशसभा सदस्य जर्नाधन सिंह क्षेत्रीले नागरिकता विधेयक प्रमाणीकरण भएपछि नागरिकताविहीनहरुले नागरिकता प्राप्त गर्ने अवसर पाएको बताए । उनले प्रि–बजेटमाथि छलफल नभएकोप्रति दुःख व्यक्त गरेका थिए ।
प्रदेशसभा सदस्य जिवछी कुमारी यादवले अनागरिकबाट नागरिक भएका सबैमा खुशीयालीको माहौल छाएको र विधेयक प्रमाणीकरण गरेकोमा राष्ट्रपतिलाई धन्यवाद व्यक्त गरिन् ।
प्रदेशसभा सदस्य रामसरोज यादवले नगरिकता विधेयक प्रमाणीकरण गरेकोमा राष्ट्रपतिलाई धन्यवाद दिँदै यसले मधेसमा नागरिकताबाट बञ्चित धेरै युवयुवतिले अधिकार पाएको बताए ।
त्यस्तै, प्रदेशसभा सदस्यहरु रुपा कुमारी यादव, श्याम पटेल, कौशल किशोर राय, अनिता कुमारी साह, इन्दु कुमारी साह, कञ्चन विच्छा, जयचन्द्र प्रसाद पटेल, किरण कुमारी, जयनव खातुन, विणादेवी शर्मा, सरोज कुमार सिंह, रजी हैदर, प्रमोद कुमार यादव, लखन दास तत्मालगायतकाले पनि विधेयक प्रमाणीकरण गरेकोमा राष्ट्रपति पौडेललाई धन्यवाद दिएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


