जनकपुरधाम, १७ जेठ । मधेस प्रदेशसभा सदस्य रामअशिष यादवले प्रदेश सभामा मिडिया सेन्टर स्थापना गर्नुपर्ने माग गरेका छन् ।

बुधबार बसेको प्रदेशसभाको पहिलो अधिवेशनको १६औं बैठकको विशेष समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

उनले भने, ‘व्यवस्थापिक र कार्यपालिकामाथि नजर राख्ने न्यायपालिका हुन्छ । र, यी तिनवटैको निगरानी देशको चौथो अंग पत्रकारले गरिरहेको हुन्छ । तर, मधेस प्रदेश सभामा पत्रकारको सहज पहुँच नै छैन ।’

उनले प्रदेश सभाम मिडिया सेन्टर स्थापना हुनुपर्ने माग गरे । सांसद यादवले नीति तथा कार्यक्रममा प्रदेशसभामा मिडिया सेन्टर स्थापनाका लागि माग गर्न आग्रह गरे ।

उनले प्रदेशसभा मिडियामैत्री हुनुपर्ने आवश्यकता रहेको बताउँदै त्यसपछि मात्र लोकतन्त्र मजबुत हुने दाबी गरे ।

त्यस्तै, जनमत पार्टीका प्रदेशसभा सदस्य सतिश सिंहले पनि देशमा गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा राष्ट्रिय मिडियाले व्यापक चलखेल गरेपनि स्थानीय सञ्चार माध्यमको आवाजका कारण देशमा संघीयता स्थापित भएको दाबी गरे ।

उनले यस प्रदेशका पत्रकारले संघीयताको अनुभूति गर्न नसकेको बताए । कर्मचारी समायोजन ऐन नुहुँदा कर्मचारी अभाव हुनुका साथै लोकसेवा आयोग पनि निरिह बनेको उनको भनाइ थियो ।