जनकपुरधाम, १७ जेठ । मधेस प्रदेश सरकारको सत्तारूढ दलले नै मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारको चर्को आलोचना गरेका छन् ।

बुधबार बसेको पहिलो अधिवेशनको १६औं बैठकमा सत्तारूढ दल लोकतान्त्रिक समाजवादी पार्टीकी प्रदेश सभा सदस्य रानी कुमारी तिवारीले प्रदेश सरकारको चर्को आलोचना गरेकी हुन् ।

तिवारीले सभा सञ्चालन हुँदैगर्दा सरकारका कुनैपनि मन्त्री उपस्थित नरहेकोमा गम्भीर आपत्ति जनाइन् ।

उनले प्रश्न गर्दै भनिन, ‘कुन नियमले हामी यो सभा सञ्चालन गर्दैछौं ? के मन्त्रीजीहरु बजेट वितरण गर्नमा व्यस्त हुनुहुन्छ ? सभा चलाउने फुर्सछ छैन भने किन हामी चलाउँदैछौं ? यो सरकार कहाँ हरायो ? सरकारको उपस्थिती किन भएन ? हामी आफैंमाथि प्रश्न उठ्दैछ ।’

निकै आक्रोशित मुद्रामा प्रस्तुत भएकी सांसद तिवारीले सरकारको लागि प्रदेशसभा प्राथमिकतामा नरहेको आरोप लगाउँदै सरकार के गर्दैछ भन्दै सरकारको कार्यशैलीमाथि गम्भीर सवाल उठाइन ।

‘सरकारले खोई प्रदेशसभाको महत्व बुझेको ? हामी आफ्नो भागबण्डामा प्रदेशसभाको महत्व नै बिर्सेका छौं । मुख्यमन्त्री र मन्त्रीहरू बस्ने ठाउँ खाली हेर्दा लाज लागिरहेको छ । दुर्भाग्य भनौं आज यहाँ एउटा पनि मिडिया छैन, त्यसैले वहाँहरुको भाग्य तेज छ । नत्र यो मिडियाका लागि ठूलो विषय बन्थ्यो होला, ’उनले भनिन, ‘हामी यहाँ बोलेर सिधा जान्छौं, कार्यान्वयनको अवस्था खोई त ?’

तिवारीले बोलिरहँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रदेश सभा सदस्य दिपेन्द्र ठाकुरले उनको समर्थन गर्दै भने, ‘सरकारको मन्त्री बोलाउनु पर्यो, हाउस सुनसान छ । राज्यमन्त्रीलाई क्याबिनेटको अधिकार छैन । सरकार पक्षले यस्तो गरिरहेको छ । तुरुन्त मन्त्री बोलाउनु पर्यो, नत्र हामी हाउस अवरुद्ध गर्छौं ।’

त्यसपछि उपसभामुख बबिता राउत इशरले राज्यमन्त्री जी हुनुहुन्छ, हाउस चल्न दिनुस भनेपछि तिवारीले विना विभागीय राज्यमन्त्री संजयकुमार यादवतर्फ इंगित गर्दै भनिन, ‘वहाँ राज्यमन्त्री हुनुहुन्छ, वहाँलाई क्याबिनेटमा जाने अधिकार छैन । वहाँ विना विभागीय राज्यमन्त्री हो, क्याबिनेट मन्त्री होईन, क्याबिनेटमा बस्ने वहाँको अधिकार छैन, वहाँ कसरी सभा चलाउनु हुन्छ ?’

उपसभामुखले तपाईंहरू बसिदिनुस, तपाईंहरूको नियमापत्ति मिलेन भनेपछि मात्र सभा अगाडि बढेको थियो ।

तिवारीले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद व्यक्त गरिन् । उनले यस प्रदेशका लागि सो विधेयक लडाईको विषय रहेको बताउँदै नागरिकताको समस्या समस्या समाधान गरेकोमा केन्द्र सरकारलाई धन्यवाद दिइन् ।