महोत्तरी, १७ जेठ । महोत्तरी प्रहरीले ट्रकसहित ८५ लाख बराबरको अवैध सालको काठ नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना.६ख. ६६६४ र ना.६ख. ६२७२ नम्बरको दुईवटा ट्रकलाई बर्दिबास नगरपालिका–५ बाट नियन्त्रणमा लिइएको हो ।

दुवै ट्रकबाट १२१ वटा सालको काठको गोलिया प्रहरीले बरामद गरेको छ । काठको गोलिया सहिद दुवै ट्रक र ट्रकका चालकलाई इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको छ ।

बरामद गरेको १ हजार ५३३ क्युफिट सालको काठ ८५ लाख ५२ हजार ४४५ मूल्य बराबरको रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

बरामद काठ, सवारी साधन र चालकलाई आवश्यक कारबाहीका लागि सब डिभिजन वन कार्यालय गढन्ता महोत्तरीलाई बुझाइएको डीएसपी गिरीले बताए ।