नोबेल अस्पतालको शौचालयभित्र एक युवक मृत भेटिए

विराटनगर, १७ जेठ । विराटनगरको नोबेल अस्पतालको शौचालयभित्र एक युवक मृत भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार मिक्लाजुङका ३३ वर्षीय पुरुष बुधबार बिहान अस्पतालको शौचालयभित्र झुन्डिएको अवस्थामा भेटिएका हुन् ।
उनी बिहान ५ः२० बजेतिर शौचालय छिरेका थिए । शौचालयबाट ननिस्किएपछि हेर्दा शौचालयको ढोकाभित्रबाट बन्द गरी चुकुलको हेन्डिलमा झुन्डिएको अवस्थामा भेटिएका थिए । मृतकले आफैंले लगाएको हरियो कपडा (गाउन)को पासो लगाएको देखिएको प्रहरीले बताएको छ ।
१३ वर्षीय छोरीलाई करणी गरेको आरोपमा प्रहरीले उनलाई जेठ १२ गते पक्राउ गरेको थियो । यसअघि अदालतबाट म्याद थप गर्न जिल्ला सरकारी वकिल कार्यालय मोरङ ल्याइएको समयमा पनि उनले आत्महत्याको प्रयास गरेका थिए ।
प्रहरीका अनुसार जेठ १४ गते आइतबार दिउँसो २ बजेतिर घाँटी रेटेर आत्महत्याको प्रयास गरेपछि म्याद थप नगरी उनलाई उपचारका लागि आफन्तको जिम्मा लगाइएको थियो ।
सरकारी वकिल कार्यालयको थुनुवा कक्षको शौचालयमा फलामले घाँटी रेटेर आत्महत्या प्रयास गरेका उनलाई उपचारका लागि कोशी अस्पताल हुँदै नोबेल मेडिकल कलेज लगिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


