–बरुणा कर्ण
काठमाडौं, १७ जेठ । नेपाली कांग्रेसका पूर्वउपसभापति एवम् प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले राष्ट्रपति रामचन्द्र पौडेलको कदमलाई स्वागत गरेका छन् ।

राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकको कदमलाई स्वागत गर्दै नेता निधिले यसले संसदीय लोकतन्त्रको मान्यता र संविधान अनुसार संसदको सर्वोच्चता कायम भएको दाबी गरेका छन् ।

बुधबार ट्विट गर्दै नेता निधिले लेखेका छन्, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज नागरिकता विधेयक प्रमाणीकरण भएकोमा हार्दिक स्वागत गर्दछु । बुवा र आमा दुबैजना नेपाली नागरिक भएर पनि सन्तानहरुले वर्षौंदेखि नागरिकता नपाएको समस्या समाधान भएको छ । संसदीय लोकतन्त्रको मान्यता र संविधान अनुसार संसदको सर्वोच्चता कायम भएको छ ।’

मन्त्रिपरिषद्को आग्रहअनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ६१ र ६६ बमोजिम बुधबार बिहान नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन् ।