एनएमबि बैंकमा भएको लुटपाटको घटनामा संलग्न लुटेराहरुको खोजी तिब्र

महोत्तरी, १७ जेठ । महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबि बैंकमा भएको लुटपाटको घटनामा संलग्न व्यक्तिहरुको खोजी जारी रहेको महोत्तरी प्रहरीले जनाएको छ ।
महोत्तरी गाउँपालिकास्थित एमएबि बैंकको शाखा कार्यालयमा मंगलबार दिउँसो मास्क लगाएका चारजना युवाहरुले पेस्तोल देखाएर नगद लुटपाट गरेका थिए । लुटेराहरु मोटरसाइकल चढेर फरार भएका थिए । लगत्तै प्रहरीले सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीहरुको बयानका आधारमा खोजी सुरु गरेको थियो ।
महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले हुलियाको आधारमा लुटेरा समूहको खोजी जारी रहेको जानकारी दिए । मल्लले भने, ‘शंकास्पद व्यक्तिहरुलाई स्क्रिनिङ जारी राखेका छौं, तर हालसम्म कोही पक्राउ परेका छैनन् ।’
उनले नेपाल–भारत सिमानाकामा कडाइ गर्दै शंकास्पद व्यक्तिहरुसँग सोधपुछ र निगरानीको काम जारी रहेको बताए ।
‘लुटपाटमा चार जनाको टोली छ । एक तलामाथि रहेको बैंकमा पुगेर, लोकल मेड हतियार देखाएर लुटपाट गरेको देखिन्छ,’मल्लले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’ लुटेराको खोजीमा नेपाल प्रहरीलाई सशस्त्र प्रहरीले पनि सघाएको छ ।
सो समूहले यसअघि करिब ३५ लाख रुपैयाँ लुटपाट गरेको बैंकका कर्मचारीले अनुमान गरे पनि १५ लाख १ हजार ४९३ रूपैयाँ मात्र लुटिएको पुष्टि भएको एसपी मल्लले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


