काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रचण्ड नेतृत्वको टोली बुधबार दिउँसो भारत प्रस्थान गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अन्य पाँचजना मन्त्रीहरु पनि सहभागी छन् ।

टोलीमा भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, छोरी गंगा दाहाल लगायतका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए ।

गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण हो ।

परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रधानमन्त्री प्रचण्ड जेठ १७ देखि २० गतेसम्म भारत भ्रमणमा रहनेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति हमिद अन्सारीसँग भेटवार्ता गर्नेछन् । उनले जेठ १८ गते भारतीय समकक्षी मोदीसँग हैदराबाद हाउसमा वार्ता गर्नेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड र मोदीले द्विदेशीय साझेदारीका विविध क्षेत्रमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रचण्ड नेतृत्वको टोली जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ ।