काठमाडौं, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार दिउँसो १ बजेर २५ मिनेटमा चारदिने भ्रमणका लागि भारत प्रस्थान गर्ने भएका छन् । गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण हो ।

बुधबार नेपाल एयरलाइन्सको विमानमार्फत प्रधानमन्त्री प्रचण्डसहितको प्रतिनिधिमण्डल भारत जाने तय भएको हो । सोमबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण स्वीकृत गरिसकेको छ ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा मन्त्रीहरू, सचिवहरू, उच्चपदस्थ सरकारी अधिकारी र स्वकीय सचिव गंगा दाहाललगायतको सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रधानमन्त्री प्रचण्ड जेठ १७ देखि २० गतेसम्म भारत भ्रमणमा रहनेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति हमिद अन्सारीसँग भेटवार्ता गर्नेछन् । उनले जेठ १८ गते भारतीय समकक्षी मोदीसँग हैदराबाद हाउसमा वार्ता गर्नेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड र मोदीले द्विदेशीय साझेदारीका विविध क्षेत्रमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।