जनकपुरधाम, १६ जेठ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ स्थित संकटमोचन देवशरण रामरति माध्यमिक विद्यालयभित्र शिक्षकमाथि भएको कुटपिटको घटनालाई लिएर विद्यालयको पठनपाठन अनिश्चितकालका लागि बन्द गरिएको छ ।

विद्यालयका कम्प्युटर शिक्षक अखिलेश झालाई एक समूहले योजनावद्ध रुपमा विद्यालयमा प्रवेश गरेर कुटपिट गरेको भन्दै दोषीलाई तत्कालै पक्राउ गरी कारवाही नगरेसम्म विद्यालयको पठनपाठन ठप्प रहने भएको हो ।

विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिको बैठकवाट दोषीलाई पक्राउ गरेर कारवाही नगरेसम्म पठनपाठन ठप्प रहने निर्णय गरेको छ ।

जनकपुरधामका सामुदायिक विद्यालयहरु मध्ये सवैभन्दा बढी विद्यार्थी अध्ययनरत यस विद्यालयमा आइतवार घटेको घटनाको विरोधमा शिक्षकहरुले प्रहरीमा लिखित रुपमा कारवाहीका लागि उजुरी पनि दिएका छन् ।

नेपाल शिक्षक संघ नगर समितिले शिक्षकमाथि हातपात गर्ने दोषीमाथि कारवाही नभए नगरभरिका विद्यालयका शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

संघका नगर अध्यक्ष गौरी शंकरलाल कर्णले असामाजिक तथा गैरअभिभावकले विद्यालयमा प्रवेश गरेर शिक्षकमाथि हातपात गरेको बताएका छन् ।

कक्षा ८, ९ र १० मा अध्ययनरत छात्राहरुसँग कम्प्युटर शिक्षक अखिलेश झाले विगतदेखि नै अभद्र व्यवहार प्रदर्शन गर्नुका साथै अश्लील शब्दहरु प्रयोग गरेको आरोप लाउँदै उनीमाथि कुटपिट गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक बलराम साहले विद्यार्थीहरुले कसैको उक्साहटमा आएर शिक्षकमाथि हातपात गरेको बताए । उनले आफ्नो विद्यालयका विद्यार्थीहरु त्यस्तो अनुशासनहीन नरहेको दाबी गर्दै अन्य कसैको उक्साहटमा आएर बाहिरी तत्वले यस्तो घटना घटाएको जिकिर गरे ।