शहीद दुर्गानन्द झाको अष्टधातुबाट निर्मित पूर्णकदको शालिक अनावरण

जनकपुरधाम, १५ जेठ । सोमबार १६औं गणतन्त्र दिवसको अवसरमा राजामाथि बम प्रहार गरेका प्रथम गणतन्त्रवादी शहीद दुर्गानन्द झाको अष्टधातुबाट निर्मित पूर्णकदको शालिक अनावरण गरिएको छ ।
गणतन्त्रका लागि तत्कालिन राजा महेन्द्रउपर जानकी मन्दिर प्राङ्गणमा बम प्रहार गरि विरता देखाएका र तत्कालिन शासक समक्ष नझुकेर आफ्नो ज्यानको आहुती दिएका अमर शहीद दुर्गानन्द झा स्मारक निर्माण समितिद्वारा जनकपुरधाम–२३ लादोस्थित सोनासती माईस्थान मन्दिर छेउमै जलेश्वर र जटही मोडने सिक्स लेनको सडक बिचमा शहिद झाको शालिक अनावरण गरिएको हो ।
गणतन्त्र दिवसका दिन सोमवार शालिक अनावरणका लागि आयोजना गरिएको समारोहमा स्मारक निर्माण समितिका अध्यक्ष समेत रहेका दुर्गानन्दका सहयात्री प्रेस तथा प्रजातन्त्र स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार राजेश्वर नेपालीले उनको पूर्ण कदको अष्टधातुको ६ फिटको प्रतिमा तयार भएको १० वर्षपछि आज उनको शालिक अनाबरण भएकोमा हर्षविभोर भएको भन्दै खुशी व्यक्त गरेका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रका अथक योद्धा राजेश्वर नेपालीले अमर शहीद दुर्गानन्दको बलिदानी दिवसलाई राष्ट्रव्यापीरुपमा मनाउन र सोबाट दलहरुले शिक्षा लिन आवश्यक रहेको बताए ।
उनले दुर्गानन्दकै कारण देशमा गणतन्त्र भएको जिकिर गर्दै उनको नाममा राष्ट्रिय राजमार्गको नामाकरण तथा संग्रहालय स्थापना गर्न सरकारसँग माग गरेका छन् । उनका भावनाहरु उनका सुपुत्र समेत रहेका जनकपुरधाम–२३ का वडाध्यक्ष राघवेन्द्र साहले पढेर सुनाएका थिए । नेपाली विरामी परेर बोल्न असमर्थ अवस्थामा छन् ।
सो कार्यक्रममा पुर्वमन्त्री तथा प्रदेश सांसद रामसरोज यादव, प्रदेश सांसद दिपेन्द्र कुमार ठाकुर, जिउँदो शहीद ललन चौधरी, धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, धनुषाका प्रहरी प्रमुख विश्वराज खडका, जनकपुरधाम–२३ का वडाध्यक्ष राघवेन्द्र साह, केवल शर्मा, नेपाल प्रेस यूनियनका पूर्वकेन्द्रिय सदस्य श्रीनारायण साहलगायतका बुद्धिजीविहरुले दुर्गानन्दको योगदानमाथि प्रकाश पारेका थिए ।
वरिष्ठ पत्रकार नेपालीको हात समाएर उनीहरुले सामुहिक रुपमा शालिकको अनावरण गर्नुका साथै शालिकमा माला लगाएर शहिद झाप्रति सम्मान र श्रद्धाञ्जली अर्पण गरिएको छ । विशेश्वप्रसाद कोईरालाको नेतृत्वको सरकारलाई तत्कालिन राजा महेन्द्रद्वारा वि.सं.२०१७ सालमा प्रजातन्त्रको हत्या गरिएको एक वर्षपछि वि.सं. २०१८ साल माघ ९ गते राजा जनकपुरधाम आउँदा १९ वर्षीय युवा नेता दुर्गानन्द झाले जानकी मन्दिर प्रांगनमा राजा सवार गाडीमाथि बम प्रहार गर्दा राजा बल्ल बाँचेका थिए र दुर्गानन्दलाई सुरक्षाकर्मीले पक्राउ गर्न सकेन ।
उनको नाममा पक्राउ परेका अन्य साथीहरुमाथि बर्बर्तापूर्ण यातना दिएको सुनेपछि स्वयं २०१८ साल वैशाखमा दुर्गानन्दले आफै गिरफ्तारी दिएका थिए । वि.स..२०२० साल माघ १५ गतेको रातिमा काठमाडौंस्थित सुनधारा केन्द्रिय कारागारमा फाँसी झुण्ड्याई गोली हानेर मृत्यु दण्ड दिइएको थियो । उनले हातमा गीता पुस्तक लिएर हांसी हांसी प्रजातन्त्रका लागि मृत्युवरण गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


