–बरुणा कर्ण
जनकपुरधाम, १५ जेठ । नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले खेलकुद क्षेत्रमा लगानी गर्न उद्योगपतिहरूलाई आग्रह गरेका छन् ।

सोमबार जनकपुरधाममा महेन्द्रनारायण निधि राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उदघाटन गर्दै निधिले यस्तो बताएका हुन् ।
नेता निधिले क्रिकेटलाई अगाडि बढाउन मधेस प्रदेसले नेतृत्व वहन गर्नुका साथै जनकपुरधामको रामजानकी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

उनले जनकपुरधाममा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे ।
उनले भने, ‘रामजानकी स्टेडियम बन्नुपर्छ भन्ने पक्षमा म छु, चाहे यो मोदीजीले दिएको पैसाले बनोस् वा नेपाल सरकारको पैसाले । स्टेडियम निर्माणका लागि मेरो पूर्ण सहयोग रहनेछ ।’

कांग्रेसले क्रान्ति गरेको बेला महेन्द्रनारायण निधि जनसरकारको पहिलो प्रधानमन्त्री बनेको स्मरण गर्दै उनले २०१५ को आमचुनावमा बिपी कोइराला नेतृत्वको सरकार गठन भएको बेला कृष्णप्रसाद भट्टराई पहिलो सभामुख र महेन्द्रनारायण निधि पहिलो उपसभामुख बनेको बताए ।

२०४६ सालको आन्दोलनको सफलतापछि भट्टराई नेतृत्वको सरकारमा उनी जलस्रोतमन्त्री बनेको निधिले बताए । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले ‘कू’ गरेपछि महेन्द्रनारायण निधिले पार्टीभित्र अहिंसात्मक आन्दोलन गर्नुपर्ने फरक धारणा राखेको चर्चा उनले गरे ।

निधिले नेपाली जनता, लोकतन्त्रलगायतका क्षेत्रमा महेन्द्रनारायण निधिको ठूलो भूमिका रहेको उल्लेख गर्दै जनकपुरधाममा महेन्द्रनारायण निधि क्रिकेट प्रतियोगिताको आयोजना गर्न आफ्नो भूमिका मात्र नभई प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र सिंहको पनि रहेको बताए ।

‘कतिपयलाई लागेको हुनसक्छ म उहाँको छोरा भएकाले यो प्रतियोगिताको आयोजना गर्न लगाएको छु होला, यसमा मेरो केही योगदान छैन,’ निधिले भने, ‘सही कुरा भन्नुपर्छ यसको लागि प्रदेश सरकारका मन्त्री वीरेन्द्र सिंहको योगदान रहेको छ । उहाँले सरकरबाट निर्णय गर्न लगाउनु भएको हो ।’

सोमबारदेखि सुरू भएको महेन्द्रनारायण निधि टि–२० क्रिकेट प्रतियोगिता आगामी २६ गतेसम्म सञ्चालन हुनेछ । सातवटै प्रदेसका टिमहरूले भाग लिएको टि–२० क्रिकेट प्रतियोगिताका लागि मधेस प्रदेश क्रिकेट संघले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

यसअघि जिल्लास्तरमा आयोजना भएको यो प्रतियोगिता यसपालि प्रदेशस्तरमा आयोजना हुन लागेको हो । प्रतियोगिताको यो दोस्रो संस्करण हो । प्रतियोगितामा राष्ट्रिय टोलीमा सहभागी भएकाबाहेक अन्य खेलाडीहरू सहभागी भएकोे आयोजकले जनाएको छ ।

रंगशाला निर्माणमा कुनैपनि दलले नियतको राजनिति गर्न नहुने भन्दै उनले मधेसका सम्पुर्ण दलहरुलाई एकजुट भएर रंगशाला निर्माणमा लाग्न आग्रह गरेका छन् । जचुकालीको क्रिकेट मात्र नभई अहिले पनि नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको खेलाडीहरुमा मधेस प्रदेशको अधिकांश खेलाडी रहेको बताउँदै उनले खेलकुद मधेस सरकारको प्राथमिकतामा पर्नुपर्ने बताए ।

महेन्द्र नारायण निधिको नाममा आयोजना गरिएको राष्ट्रिय स्तरको प्रतियोगीता जनकपुरधामको खेलकुद विकासको नयाँ आयाम बन्ने उनले बताए ।

कार्यक्रममा मधेस सरकारका शिक्षा तथा समाजिक कल्याण मन्त्री महेश प्रसाद यादव, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरेन्द्र सिंहले पहिलो मधेस सरकारको कार्यकालमा भौतिक संरचनाको व्यवस्थापन र कोरानाको कहर र व्यवस्थापनमै समय व्यतित भएको भन्दै वर्तमान सरकार खेलकुद क्षेत्रको विकासका लागि तत्पर रहने बताउँदै भारत सरकारको सहयोग रंगशालामै सदुपयोग गर्नुपर्ने बताए ।

जनकपुरधामका मेयर मनोज कुमार साहले भारतिय प्रधानमन्त्रीले घोषणा गरेको एकसय करोड रंगशालामा सदुपयोग हुने प्रक्रियामा राजनीति गर्नेहरुलाई आफुहरु नछोडने चेतावनी दिए ।

नेपाल क्रिकेट संघका केन्द्रिय कोषाध्यक्ष रोशन कुमार सिंहले मधेस प्रदेश सरकारले बजेट प्राथमिकतामा खेलकुद क्षेत्रलाई पार्न नसकेको भन्दै दुःख व्यक्त गरे । नेपाल क्रिकेट संघ मधेस प्रदेशका अध्यक्ष हिरा भगतको अध्यक्षतामा भएको समुदघाटन समारोहमा जनकपुुरधाम उपमहानगरपालिका उपप्रमुख किशोरी साह, क्यानका प्रतिनिधीहरु सहितकाले आ–आफ्नो धारणा राखेका थिए ।

मधेस प्रदेश क्रिकेट संघको आयोजना र नेपाल लोकतान्त्रिक खेलकुद संघ तथा जिल्ला क्रिकेट संघ धनुषाको सहकार्यमा दोस्रो महेन्द्र नारायण निधि स्मृति टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा विजेता टिमले ३ लाख रुपैयाँ र उपविजेताले २ लाख रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै बेस्ट ब्याट्सम्यानलाई १५ हजार, बेस्ट बलरलाई १५ हजार र म्यान अफ दि सिरिजलाई २५ हजार रुपैयाँ प्रदान गरिने नेपाल लोकतान्त्रिक खेलकुद संघ धनुषाका सभापति अखिल मढिले जानकारी दिए । उनले हरेक म्याचका म्यान अफ दि म्याचलाई ५ हजार रुपैयाँ दिइनेसमेत बताए ।

प्रतियोगिताको कूल बजेट ४० लाख रुपैयाँ रहेकोमा खर्च भने ६० लाख हुने अनुमान गरिएको छ । जसमध्ये २० लाख रुपैयाँ निजी स्तरबाट व्यवस्थापन गरिने उनले बताए ।

लिगकम नकआउटको आधारमा हुने प्रतियोगितामा राष्ट्रिय स्तरको खेलहरुमा अपनाइने सम्पूर्ण मापदण्ड अपनाइने बताइएको छ ।प्रतियोगिताको तयारी तिव्र रुपमा भइरहेको आयोजकले जनाएको छ ।

यसअघि पहिलो महेन्द्र नारायण निधि स्मृति टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता सप्तरीको राजविराजमा आयोजना गरिएको थियो ।
प्रतियोगिताको सोमबार भएको उद्घाटन खेलमा मधेस प्रदेशले विजयी शुरुवात गरेको छ ।