जनताको जीवनस्तरमा सुधार ल्याउने प्रयासले आकार लिन थालेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको जीवनस्तर सुधारमा सरकारको प्रयासले आकार लिन थालेको बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी रहेको पनि बताए ।
उनले भने, ‘संविधान र व्यवस्थाअनुरूप सञ्चालित सरकारलगायत सबै पक्षको ध्यान अब गणतान्त्रिक व्यवस्थाका अभीष्ट पूरा गर्नतिर केन्द्रित हुनुपर्दछ र हुँदै पनि गएका छन् । यसको निम्ति नागरिक हक अधिकारको पूर्ण सुनिश्चितता गर्दै छोटो समयमा मुलुकलाई आर्थिक सामाजिक रूपमा एक सबल र समुन्नत राष्ट्र बनाई जनताको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने हाम्रो प्रयासले क्रमशः आकार लिन थालेको छ ।’
प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रमा विभिन्न धारणा र विचारहरू हुनु स्वाभाविक भए पनि महत्त्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र आम नेपाली जनताको समान र अविचलित धारणा हुन सके मात्र मुलुकलाई अघि बढाउन र राष्ट्रिय एकताको जगलाई अझ मजबुत बनाउन सकिने बताए ।
उनले गणतन्त्रलाई संस्थागत गर्ने क्रममा कैयौँ चुनौती देखिए पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई समावेशी लोकतन्त्रको अभ्यास गर्ने व्यवस्थाका रूपमा स्थापित गर्न पहल भइरहेको उल्लेख गरे ।
‘गणतन्त्रलाई संस्थागत गर्ने क्रममा हाम्रा सामु कैयौँ चुनौती देखिए पनि हामीले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई समावेशी लोकतन्त्रको अभ्यास गर्ने उत्कृष्ट व्यवस्थाका रूपमा स्थापित गर्न पहल गरिरहेका छौँ । नेपाली समाजको संरचना तथा भौगोलिक विशिष्टतालाई सम्बोधन गर्न संघीयता, समावेशिता एवं समानुपातिक प्रतिनिधित्वको सिद्धान्त अङ्गीकार गरिएको छ’, उनले भने, ‘विश्वब्यापीरूपमा स्थापित लोकतन्त्रका आधारभूत सिद्धान्त र नेपाली समाजको विशेषता अनुकूलका चरित्र थप गरिएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मौलिक राजनीतिक प्रणाली हो भन्ने तथ्य स्थापित हुँदै गएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


