काठमाडौं, १५ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले भ्रष्टाचारविरुद्ध युद्धनै छेड्नुपर्ने बताएका छन् ।

ठुलठूला भ्रष्टाचारीलाई ‘ठूला माछा’को संज्ञा दिँदै मन्त्री किरातीले उनीहरुलाई पक्राउ गर्नका लागि पनि भ्रष्टाचार विरोधी अभियानलाई तीव्रता दिनुपर्ने बताए ।

सोमबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जनताको दबाबमा केही ठूला भ्रष्टाचारी पक्राउ परे पनि त्यसका नायकहरुलाई भने खोज्नुपर्ने बताए ।

मन्त्री किरातीले सहिदहरुमाथि अपमान हुन नदिन पनि भ्रष्टाचार विरुद्धको अभियानलाई गतिका साथ अघि बढाउनुपर्ने बताए ।

त्यस अवसरमा मन्त्री किरातीले मुलुकलाई समृद्धिको यात्रातर्फ अगाडि बढाउनका लागि ललितकलाको भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे ।