जनकपुरधाम, १५ जेठ । मधेस प्रदेशको जनलोकपाल आयोगका कार्यालय प्रमुख दानीकान्त झाले रमाना लिन अस्वीकार गरेका छन् ।

सुशासन ल्याउन तथा भ्रष्टाचार निवारण गर्न गठन गरिएको प्रदेश जनलोकपाल आयोगका जिम्मेवार पदाधिकारीले नै अटेरी गर्न थालेपछि आयोगमा मनोमानी हावी भएको पुष्टि भएको देखिन्छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले आयोगका कार्यालय प्रमुख झालाई चार महिना पहिलेनै शिक्षा विज्ञान प्रविधी तथा वाणिज्य मन्त्रालयमा काजमा खटाएपनि उनले रमाना लिन नमानेको पाइएको छ ।

कार्यालयले २०७९ फागुन २ गते नै झालाई शिक्षा, विज्ञान प्रविधी तथा वाणिज्य मन्त्रालयमा खटाएपनि उनले आजको मितिसम्म मन्त्रालयमा हाजिर हुन आनाकानी गर्दै आएको बताइएको छ । झाले अहिलेपनि जनलोकपाल आयोगमै हाजिर गर्दै आएका छन् ।

मुख्यमन्त्री कार्यालयले झाको ठाउँमा विष्णु ढुंगेललाई पठाईसकेपनि ढुंगेललाई झाले हाजिरी गर्न रोक लगाएको आयोग स्रोतले जानकारी दिएको छ ।

यता सरुवा भएको चार महिना बितिसक्दा पनि रमाना नलिएपछि मन्त्रालयले जेठ ७ गते खटाएको कार्यालयमा हाजिर किन नभएको र जेठ १० गतेभित्र रमानाका लागि पत्र काटेको बुझिएको छ । जेठ १० गतेभित्र रमानाका लागि पत्र काटिएपनि कार्यालयमा सम्पर्क गर्दा झाले रमानापत्र बुझ्न अस्विकार गरेका छन् ।

यस सम्बन्धमा आयोगका सदस्य राजकिशोर प्रसाद साहले कार्यालय प्रमुख झाको सरुवा चार महिना पहिलेनै भइसकेको कुरा सत्य रहेको बताए । उनले झा हाजिर हुन चाहेका छैनन् त्यसविषयमा आफूलाई जानकारी नरहेको बताए ।

स्रोतका अनुसार आयोगमा झाको हालीमुहाली चल्दै आएको र सोहि कारणले रमाना लिनबाट अस्विकार गर्दै आएका छन् ।