काठमाडौं, १४ जेठ । वीरगञ्जस्थित सिर्सिया नदीलाई प्रदुषण मुक्त बनाउनुपर्ने लगायतका मागसहित वीरगञ्जबाट काठमाडौंसम्म पैदल पुगेका चुरे तथा वनजंगल संरक्षण अभियानीहरुले माइतीघरमा धर्ना दिएका छन् ।

पैदलयात्राको ११औं काठमाडौं पुगेका उनीहरुले बारा औद्योगिक करिडोरका उद्योगबाट निस्किने फोहोरका कारण सिर्सिया नदी प्रदूषित हुँदै आएको भन्दै नदीलाई प्रदुषणमुक्त बनाउन सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।

बाराको सिमराभन्दा पश्चिम पर्ने रामवनस्थित वनबाट बग्न सुरु गरेको सिर्सिया नदी पर्साको वीरगञ्ज शहर हुँदै भारतको रक्सौलसम्म पुगेको छ । पर्सा–बारा औद्योगिक करिडोरका उद्योगबाट रसायनयुक्त पानी र फोहर सिधै नदीमै विसर्जन हुँदै आएकाले सिर्सिया नदी विगत तीन दशक यता प्रदूषित बनेको हो ।

औद्योगिक करिडोरमा रहेका छाला, डिस्टीलरी, टेक्सटाइल, घ्यू, साबुनलगायतका उद्योगबाट निस्कने रसायनयुक्त पानी सो खोलामा बगाइन्छ । जीवजन्तुका सडेगलेका छाला, रौँ, खरानी, लेदोलगायतका विकार प्रशोधन नगरी नदीमा सिधै बगाउने गरिन्छ । जसले गर्दा सिर्सिया नदी प्रदूषित र दुर्गन्धित बनेको हो ।

सिर्सिया नदी आसपासका स्थानीयले प्रदूषण रोक्न माग गर्दैै पटकपटक आन्दोलन समेत गर्दै आएका छन् । सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाले नदीमा फोहर र रसायनयुक्त पानी सिधै मिसाउँदै आएका उद्योगको पटकपटक अनुगमनसमेत गरेको थियो ।

महानगरको टोलीले श्री निधि टेक्सटाइल्स प्रालि, ब्रिटानीया नेपाल प्रालि, शक्ति दाल मिल र शक्ति वायर लगायतले उद्योगबाट निस्कने फोहर पानी सोझै नदीमा मिसाउने गरेको फेला पारेको थियो ।

चुरे तथा वन जंगल संरक्षण अभियानको अगुवाइमा संघर्ष गर्दै आएका सरोज रायले सिर्सिया नदीको फोहरका कारण त्यहाँका स्थानीयको उठीबास भएकाले बाध्य भएर काठमाडौं आउनु परेको बताए । स्थानीय स्तरमा भएको आन्दोलनले नटेरेपछि सरकारलाई दबाब दिन काठमाडौं आउन बाध्य भएको उनले बताए ।

धर्नास्थलमा उद्योगमन्त्री रमेश रिजाल, प्रतिनिधिसभा सदस्य अजय चौरसिया, राजकुमार गुप्ता, विराज भक्त श्रेष्ठ, प्रदीप यादवलगायतकाहरु पुगेर सिर्सिया नदीलाई प्रदूषण मूक्त गर्न आवश्यक पहल गर्ने आश्वासन दिएको उनले बताए ।

सिर्सिया नदीलाई प्रदुषण, अपहरणमुक्त गराउन र भूमिहीनहरुको भूमि अधिकार, रोजगारीका साथै चुरे वनजंगल संरक्षणका निम्ति जनआवाज आन्दोलनअन्तर्गत जेठ ४ गतेदेखि उनीहरुले काठमाडौं केन्द्रित आन्दोलनको शुरुवात गरेका थिए ।