बचतकर्ताको करोडौं रकम हिनामिना गरेको आरोपमा हुलाक कार्यालयका प्रमुख कुर्मी पक्राउ

बारा, १४ जेठ । प्रहरीले बचतकर्ताको झन्डै दुई करोड रुपैयाँ हिनामिना गरेको आरोपमा जिल्ला हुलाक कार्यालय बाराका प्रमुख बलिराम प्रसाद कुर्मीलाई पक्राउ गरेको छ ।
हुलाक बचत बैंकबाट १ करोड ९५ लाख ३४ हजार ९६६ रुपैयाँ हिनामिना गरेको आरोपमा ५० वर्षीय कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पर्साको बहादुरमाई गाँउपालिका–२ घर भएका कुर्मी जिल्ला हुलाक कार्यालय कलैयाका प्रमुख हुन् ।
बचतकर्ताले दिएको उजुरीका आधारमा कुर्मीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए ।
कुर्मीले जिल्ला हुलाक बचत बैंक कलैयामा सेवाग्राहीले जम्मा गरेको रकम हिनामिना गरेको विषयमा सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय बारामा उजुरी दिएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


