काठमाडौं, १४ जेठ । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सरकारको सिफारिसअनुसार राष्ट्रपति कार्यालयले निर्णय गरे उनी सोमबार गणतन्त्र दिवसका अवसरमा छुट्नेछन् । कैलालीको टीकापुर घटनामा चौधरीले जन्मकैदको सजाय भोगिरहेका छन् ।

संविधानको धारा २७६ मा ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्नेछ’ भन्ने व्यवस्था छ ।

सर्वोच्च अदालतले २ जेठ, २०८० मा मात्र रेशमलाई जन्मकैद सजाय गर्ने उच्च अदालत, दिपायलले गरेको फैसला सदर गरेको थियो ।सर्वोच्च अदालतको फैसलालगत्तै त्यसविरुद्ध पुनरावलोकनमा जाने भनी वक्तव्य दिएका चौधरीले संविधानको धारा २७६ अनुसार माफी मिनाहाको बाटोबाट कैदमुक्त हुने बाटो रोजेका थिए ।

२०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा एक बालकसहित ८ जनाको ज्यान गएको थियो । चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक हुन् ।