काठमाडौं, १३ जेठ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले नेकपा एमाले भ्रष्ट्राचारको छानबिन होला कि भनेर डराएको आरोप लगाएका छन् ।

काठमाडौं जिल्ला समन्वय समितिले शनिबार आयोजना गरेको चियापान तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

नेकपा एमालेले पशुपतिनाथको जलहरीबारे प्रश्न उठेपछि संसद अवरुद्ध गरेको विषयप्रति लक्षित गर्दै श्रेष्ठले नेकपा एमालेको भ्रष्ट्राचारप्रतिको दृष्टिकोण उदांगिएको बताए ।

यदि नेकपा एमाले भ्रष्ट्राचारविरुद्ध उभिने हो भने यसको जाँच गर्न तयार हुनपथ्र्यो भन्दै उनले प्रमाण भेटियो भने सजाय भोग्न तयार छौँ भन्नुको साटो जाँच गर्ला कि भनेर संसद अवरुद्ध गर्ने, बोलिएका कुरालाई रेकर्डबाट हटाउन लगाउने काम गरेको उनले आरोप लगाए ।

उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब तीन दर्जन नेता–कार्यकर्ता जसपा प्रवेश गरेका छन् । नवप्रवेशीलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका श्रेष्ठले खादा र अबिर लगाएर पार्टी प्रवेश गराएका हुन् ।

कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्यहरु लालबहादुर तामाङ, बोम दर्लामी मगर, पार्टीका राजनीतिक समिति सदस्य एवं प्रचार विभाग प्रमुख पूर्ण बस्नेत, केन्द्रीय सदस्य एवं समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष अर्जुन लम्साल, केन्द्रीय अनुशासन आयोगका सदस्य विनोद श्रेष्ठ, नेवा राष्ट्रिय समितिका अध्यक्ष श्यामकृष्ण प्रजापतिलगायतको उपस्थिति थियो ।