जनकपुरधाम, १३ जेठ । सरकारले नागरिकता विधेयक प्रमाणिकरण गर्न राष्ट्रपतिलाई आग्रह गरेकोमा तराई–मधेश लोकतान्त्रिक पार्टीले स्वागत गरेको छ ।

विगत लामो समयदेखि राष्ट्रपति कार्यालयको टेवलमा रहेको नागरिकता विधेयकलाई प्रमाणिकरण गर्न सरकारले राष्ट्रपतिलाई आग्रह गरेकोमा तमलोपाले सोको स्वागत गरेको हो ।

अब राष्ट्रपति रामचन्द्र पौडेलले यस विधेयकलाई तत्कालै प्रमाणिकरण गर्नुपर्ने तमलोपाले जनाएको छ । तमलोपाले प्रधानमन्त्री र मन्त्रीपरिषद नै राष्ट्रपतिको सल्लाहकार रहेको जनाएको छ ।

तमलोपाका केन्द्रीय सदस्य उमेशकुमार मण्डलले तमलोपा सुरुदेखि नै यसका लागि प्रदर्शन, ज्ञापन–पत्र र सञ्चार माध्यमहरुबाट आवाज उठाउँदै आइरहेको बताए ।

तमलोपा, सद्भावना पार्टी, राष्ट्रीय सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी सम्मिलित लोकतान्त्रिक मधेशी मोर्चाले जनकपुरधाममा प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्रसमेत बुझाएको थियो ।