–बरुणा कर्ण
जनकपुरधाम, १३ जेठ । जनकपुरधाममा सोमबारदेखि दोस्रो महेन्द्र नारायण निधि स्मृति टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना हुन लागेको छ ।

शनिबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै मधेस प्रदेश क्रिकेट संघका अध्यक्ष हीरा भगतले सो जानकारी दिएका हुन् ।

उनले क्रिकेट संघ मधेस प्रदेशको आयोजनामा हुन लागेको यस दोस्रो महेन्द्र नारायण निधि स्मृति टी–२० प्रतियोगितामा सातै प्रदेशको टिम सहभागी रहने जानकारी दिएका छन् ।

प्रतियोगितामा ७० लाख खर्च हुने अनुमान गरिएकोमा मधेश सरकारले ४० लाख रुपैयाँ दिने अध्यक्ष भगतले बताए । प्रतियोगिताको प्रत्यक्ष प्रसारणमा खर्च हुने ५ लाख रुपैयाँ नेपाल क्रिकेट संघले दिने र बाँकी रकम विभिन्न प्रायोजकहरुबाट संकलन गरिने उनले बताए ।

प्रतियोगिताको फाइनल खेल जेठ २७ गते हुनेछ । प्रतियोगिताका खेलहरु जनकपुरधाम–१४ रजौलस्थित निर्माणाधिन रामजानकी अन्तर्राष्ट्रिय रंगशालामा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेता टिमले ३ लाख रुपैयाँ र उपविजेताले २ लाख रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै बेस्ट ब्याट्सम्यानलाई १५ हजार, बेस्ट बलरलाई १५ हजार र म्यान अफ दि सिरिजलाई २५ हजार रुपैयाँ प्रदान गरिने नेपाल लोकतान्त्रिक खेलकुद संघ धनुषाका सभापति अखिल मढिले जानकारी दिए । उनले हरेक म्याचका म्यान अफ दि म्याचलाई ५ हजार रुपैयाँ दिइनेसमेत बताए ।

लिगकम नकआउटको आधारमा हुने प्रतियोगितामा राष्ट्रिय स्तरको खेलहरुमा अपनाइने सम्पूर्ण मापदण्ड अपनाइने बताइएको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको उदघाटन नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले गर्नेछन् ।

यसअघि पहिलो महेन्द्र नारायण निधि स्मृति टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता सप्तरीको राजविराजमा आयोजना गरिएको थियो ।