विराटनगर, १२ जेठ । जिल्ला प्रशासन कार्यालय मोरङले शनिबार बिहानैदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ ।

कोशी प्रदेश नामांकरण पश्चात् असहमत समूह तथा पक्षबाट विरोध, धर्ना, जुलुस, आयोजना गरी शान्ति सुरक्षामा असर पार्न सक्ने भएकोले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको हो ।

सुरक्षा स्थितिलाई सहज एवं सामान्य तुल्याई राख्न जिल्ला सुरक्षा समिति मोरङको निर्णयानुसार शनिबार विहान ६ः०० बजेदेखि अर्को आदेश नभएसम्म सर्वसाधारण तथा सवारी साधन आवत जावत बाहेक कुनैपनि किसिमको सभा, जुलुस, भेला, धर्ना जस्ता कार्यहरु गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) वमोजिम निषेध गरिएको प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले जानकारी दिए ।

प्रदेश सभाको पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोकसम्मको क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्मको क्षेत्र, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्मको क्षेत्र, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि ३०० मिटरसम्मको क्षेत्र र जिल्ला प्रशासन कार्यालय मोरङ डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्मको स्थानलाई निषेधित क्षेत्र तोकिएको हो ।

आइतबारदेखि कोशी प्रदेशको प्रदेश सभाको बैठक बस्दैछ । पहिचानवादीको आन्दोलनले उक्त बैठक बिथल्ने भएकोले प्रशासनले निषेधित क्षेत्र घोषणा गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी यादवले आदेशको उल्लंघन गरेको पाइएमा प्रचलित कानून वमोजिम कारवाही गरिने बताए ।