जनमत पार्टीले दुई सांसदलाई फिर्ता बोलाउने, सरकारलाई दिएको समर्थनबारे बजेटपछि मात्रै निर्णय लिने

काठमाडौं, १२ जेठ । जनमत पार्टीले पार्टीको निर्णय पालना नगरेको भन्दै दुई सांसदलाई फिर्ता बोलाउने तयारी गरेको छ ।
काठमाडौंको तपोवनमा सकिएको केन्द्रीय समिति बैठकले समानुपातिक तर्फका सांसदहरु सोनु मर्मु र विनिता सिंहलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
एक नेताका अनुसार केन्द्रीय समिति बैठकमा मुर्मु र सिंहलाई फिर्ता बोलाउने निर्णय सर्वसहमतले पारित भएको छ । उनले पार्टीको निर्देशन अनुसार काम नगरेकोले राइट टु रिकलको निर्णय गर्नुपरेको जानकारी दिए ।
मुर्मुले पार्टीको निर्णय बिपरीत श्रीमानलाई स्वकीय सचिव राखेकाले फिर्ता बोलाउने निष्कर्षमा बैठक पुगेको ती नेताले बताए ।
अर्का सांसद सिंहको भने संसदीय भूमिका प्रभावकारी नभएको निष्कर्ष बैठकले निकालेको छ ।
यसैबिच, जनमतले सरकारलाई दिएको समर्थनबारे बजेटपछि मात्रै निर्णय लिने भएको छ । केन्द्रीय कार्य समिति बैठकले संघीय सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद बिस्तारप्रति असन्तुष्टि जनाउँदै जनमत पार्टीले सरकार भने छोडिसकेको छ । तर समर्थन कायमै छ । संघीय सरकारसँगै मधेश प्रदेशको सरकारबारे पनि बजेटपछि निर्णय गर्ने उसको तयारी छ ।
जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेश प्रदेश सरकारमा जनमत पार्टी सहभागी छ । तर गत १० वैशाखको उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवसँग जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई उम्मेदवार बनाएपछि खटपट बढेको छ ।
बुधबार मात्रै मुख्यमन्त्री सरोजकुमार यादवले जनमत पार्टीका मन्त्रीको जिम्मेवारी खोसेका छन् ।
केन्द्रीय कमिटी बैठकबाट जनमत पार्टीले विधान संशोधन, केन्द्रीय समितिको संख्या थप, कार्यकारिणी समिति गठन र सचिवालय गठन गर्ने निर्णय समेत गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


