वीर अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन

काठमाडौं, १२ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले एक हप्ताभित्र बिरामीले महसुस हुने गरी र सुधार भएको देखिने गरी वीर अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिएका छन् ।
आज वीर अस्पतालको आकस्मिक निरीक्षणपछि मन्त्री बस्नेतले अनलाइन टिकटको व्यवस्था, अस्पतालको सरसफाइ, शय्याबारे वेबसाइटमार्फत जानकारी र सघन उपचार कक्षमा शय्या थप्दै सेवा सहजरूपमा प्रवाह गर्न अस्पताललाई निर्देशन दिएका हुन् ।
उनले भने, ‘वीर अस्पताल देशकै उत्कृष्ट अस्पतालको रूपमा चिनिनुपर्छ । एक हप्ताभित्र अनलाइन टिकट, फोहोर व्यवस्थापन, इमरजेन्सी र डाइलासिसमा शय्या थपेर सेवा सुधार गर्नुहोस् ।’
मन्त्री बस्नेतले वीर अस्पतालमा सञ्चालनको तयारीमा रहेको नौ शय्याको सघन उपचार कक्ष एक हप्ताभित्रै सञ्चालनमा ल्याउन अस्पताललाई निर्देशन दिए ।उनले वीर अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई कार्यालय अवधिभर नबसे कारवाही गर्न चेतावनीसमेत दिए ।
मन्त्री बस्नेतलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का निमित्त उपकुलपति प्राडा भुपेन्द्र बस्नेत र वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले वीर अस्पतालले प्रदान गरिरहेका सेवा र सुविधाका विषयमा जानकारी दिएका थिए ।
न्याम्सका निमित्त उपकुलपति प्राडा बस्नेतले स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनअनुसार एक सातामा अस्पतालको सेवामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


