जनकपुरधाम, १२ जेठ । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले इन्टरनेटको दुनियाँले आम नागरिकको जीवन परिवर्तनशील र रुपान्तरित गर्न मद्दत पुगेको बताएका छन् ।

इन्टरनेट दुनियाँको प्रवेशले नागरिकका सकारात्मक सँगसँगै नकारात्मक सन्देशसमेत प्रवाह हुने भएकोले कसरी फिल्टर गरेर नाकारात्मकलाई ईग्नोर र सकारात्मकलाई अपनाउने विषय गम्भीर र जटिल बन्दै गएको बताएका हुन् ।

‘बालबालिका राष्ट्रका गौरव हुन्’ मुख्य नाराका साथ नेपाल टेलिकम, दुर सञ्चार प्राधिकरणले आयोजना गरेको प्रदेश स्तरीय कार्यशालामा सभामुख मण्डलले इन्टरनेटबाट प्राप्त हुने सकारात्मकता र नकारात्मकताबीचको द्वन्दमा आम नागरिकको उपयोगी हुने चिजलाई देशले नै पस्कने तथा रोक्ने काम गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘व्यवहारको संलेषण नै कानून हो । त्यसैले विधिको शासन लागू गर्न कानून नै महत्वपूर्ण भएकोले इन्टरनेटमा भएको सकारात्मक पक्षलाई राष्ट्रले अंगाल्दै नकारात्मक पक्षलाई हामीले अभोईड गर्नुपर्छ ।’

‘इन्टरनेटलाई समय किल गर्ने माध्यम बनाउनु हुँदैन् । आवश्यक भएको महत्वपूर्ण जानकारी सम्प्रेशन गर्ने र बाँकी जसले समाज र संस्कृतिमा नकारात्मक असर पर्छ । जसले बालबालिकाको भविष्यमा ग्रहण लगाउँछ, त्यसलाई ब्लक गरेर आम नागरिकको पहुँचबाट टाढा राख्नुपर्ने आवश्यकता छ ।,’ मण्डलले भने, ‘हामी इन्टरनेटको दुनियाँमा छौं, तर अहिले पनि अनावश्यक राज्यको खर्च बढाइरहेका छौं, हरेक गाउँ गाउँमा इन्टरनेट पुगेको छ, त्यो इन्टरनेटलाई फेसबुक, टिकटक र युटयुव हेर्न बाहेक उपयोग गर्न सकेका छैनौं, अहिलेको समयमा इन्टरनेटलाई प्रयोग गरेर कक्षा सञ्चालन गरी एउटा पालिकामा एउटा वा दुईवटा शिक्षकले पढाउने वातावण बनाउनु पर्छ ।’

‘अनलाईन बाल सुरक्षा, चूनौती, आवश्यकता र आगामी कार्यदिशा’ कार्यशालामा सभामुख मण्डलले अहिलेको प्रविधि र युगमा इन्टरनेट वल्र्ड ब्रेन भएकोले यसलाई सक्दो प्रयोगबाट राज्यको खर्च घटाउने र आम्दानी बढाउन लाग्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने, ‘सेफ इन्टरनेटमा व्यक्तिलाई हैन, राष्ट्रलाई आवश्यक भएको महत्वपूर्ण जानकारी सम्प्रेशनको जरुरी छ ।’ उनले शिक्षालाई किताबी ज्ञान भन्दा पनि इन्टरनेटसँग जोडेर शिक्षा दिनुपर्ने र पाउनुपर्ने व्यवस्था मिलाउन आवश्यक रहेको बताए । इन्टरनेटलाई देशको आर्थिक, सामाजिक, सांस्कृतिक तथा पूरातात्विक महत्वसँग जोड्नुपर्ने मण्डलको भनाइ थियो ।

थन्कियो कानून

सभामुख मण्डलले मधेस प्रदेशमा ५३ वटा कानून निर्माण भएपनि थन्किए सरह भएको बताए । उनले भने, ‘कानून बनेको छ, तर कार्यान्वयन नहुँदा सिंह न पुच्छर भएको छ ।’

उनले कानून निर्माण भएपनि कार्यान्वयन नहुँदा उपयोगितामा प्रश्न चिन्ह खडा भएको छ । मण्डलले भने, ‘प्रदेश कानूनलाई लागु गराउने भए मात्र सजिव बन्न सक्छ । अन्यथा कानून भए/नभए पनि कुनै फरक पर्दैन् ।’

न्यायलयमा प्रदेश कानून छ की छैन, कार्यान्वयनमा छ, की छैन् भन्ने कुरा महत्वपूर्ण भएको मण्डलको भनाइ थियो ।