सरकारको अध्यादेशविरूद्ध धनुषा–महोत्तरी लेनदेन संघर्ष समिति आन्दोलित, प्रजिअलाई ज्ञापनपत्र

जनकपुरधाम, ११ जेठ । सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० ल्यायो । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा गत बैशाख २० गते सो अध्यादेश जारी गरे ।
मन्त्रिपरिषद्को वैशाख १९ गतेको बैठकले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेश मार्फत कानून संशोधन गर्ने निर्णय गरेको थियो । त्यसकै आधारमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका थिए ।
सरकारले मिटरब्याजलाई अनुचित लेनदेनको रुपमा परिभाषित गरी कानुनी रुपमा दण्डनीय बनाउन उक्त अध्यादेश ल्यायो ।सूदखोरलाई कारबाही गर्न माग गर्दै पीडितहरू लामो समयदेखि आन्दोलनमा छन् । उनीहरू तराई मधेशका विभिन्न जिल्लाबाट काठमाडौं पुगेर प्रदर्शनसमेत गरेका छन् ।
यसैबीच, जनकपुरधाममा भने धनुषा–महोत्तरी लेनदेन संघर्ष समितिले त्यसको विरोधमा प्रदर्शन गरेको छ । समितिले विभिन्न ६ सुत्रीय मागसहित प्रदर्शन गरेका हुन् ।
उनीहरूले मिटरब्याजको नाममा भइरहेको लेनदेन आतंक बन्द गर्नुपर्ने, स्थानिय निकायमा जाँचबुझ गरि मात्र प्रमाणको आधारमा उजुरी दर्ता गर्ने प्रावधान हुनुपर्ने, लेनदेन सम्बन्धी उजुरी बिना प्रमाण दर्ता नगर्नुपर्ने, जिल्ला प्रशासन कार्यालय धनुषा तथा मिटरब्याज जाँचबुझ आयोगमा दर्ता भएको निवेदनहरू हाल जारी भएको मुलुकी देवानी संहिता २०७४ को ३६ को ३ (ख) बमोजिम जाँचबुझ तथा छलफलको लागी स्थानिय सरकारलाई जिम्मा लगाउनुपर्ने, आफूहरूले लगाएको लगानीहरू कानून बमोजिम साबाँ र ब्याजसहित उपलब्ध हुनुपर्ने र लेनदेनको व्यवहारलाई मर्यादित र सहज बनाउनुपर्ने माग गरेका छन् ।
यी मागहरूसहित उनीहरूले धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसमक्ष ज्ञापनपत्रसमेत बुझाएका छन् ।
प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै समितिका अध्यक्ष विनोद यादवले समाजमा रहेका प्रत्येक मानवलाई दैनिक काम गर्नका लागी एक अर्कासँग कानून बमोजिम लेनदेन गर्ने हक अधिकार मुलुकी देवानी संहिता २०७४ को दफा ४७४ मा रहेको र सोही बमोजिम आफूहरूले पनि विभिन्न बैंक तथा बित्तिय संस्थाबाट ऋण लिएर समाजमा आवश्यक पर्ने व्यक्तिमा विगतदेखि नै प्रचलित कानून बमोजिम आवश्यकता अनुसार ऋण लेनदेन गर्दै आएको बताए ।
उनले जनताले घर व्यवहार चलाउनका लागी ईष्ट मित्र, छर छिमेकीबाट नेपालको प्रचलित कानून बमोजिम कपाली तमसुक बनाई लेनदेन गर्न तथा जनजिविका चलाउँदै आएको अवस्थामा केहि गलत सोच भएका व्यक्तिले आफूहरूको ऋण तिर्न नपरोस भन्ने मनशायले मिटरब्याजीको नामाकरण गरी सबैलाई एकै किसिमबाट व्यवहारमा तुलना गरेकोप्रति दुःख व्यक्त गरेका छन् ।
केहि गलत प्रवृतिको व्यक्तिहरूले लगानीकर्ताहरूलाई विभिन्न किसिमको भय त्रास तथा मिटरब्याजी भनि निवेदन दिने गरेको र विभिन्न किसिमको धाक धम्की दिई लगानीकर्ताको व्यक्तिगत स्वतन्त्रतामा आघात पुर्याइएको उनको गुनासो छ ।
उनले आफूहरूको माग पुरा नभए चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


