जनकपुरधाम, ११ जेठ । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल पनि सहभागी भएको छ ।

पर्साको निर्वाचन क्षेत्र नम्बर–२ (ख)बाट निर्वाचित लोसपाका प्रदेशसभा सदस्य रमेश प्रसाद कुर्मीको नेतृत्वमा सो पार्टी सरकारमा सहभागी भएको हो ।

कुर्मीलाई मुख्यमन्त्री यादवले आफैंसँग राखेको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएको सो पार्टीका मधेस प्रदेश सचिव रामविनोद चौधरी (पप्पु)ले जानकारी दिए ।

‘वन तथा वातावरण मन्त्रीको टुंगो लागेपनि सोही मन्त्रालयको राज्यमन्त्रीको नाम भने पार्टीभित्र टुंगो लाग्न बाँकी रहेको छ,’ चौधरीले भने,‘राज्यमन्त्रीको नाम पछि टुंगो लाग्छ, तत्काल आज साँझ ५ बजे वनमन्त्रीको रूपमा कुर्मीले शपथ लिन लागेका छन् ।’

सत्तारूढ गठबन्धनको बैठकले मधेसमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएसँगै पहिलो चरणमा जसपाले सरकारको नेतृत्व गरिरहेको छ ।

योसँगै मधेस प्रदेशमा अब पाँचौपटक मन्त्रिपरिषद विस्तार हुन लागेको छ । यसअघि मंगलबार मुख्यमन्त्री यादवले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी गराई चौथोपटक मन्त्रिपरिषद विस्तार गरेका थिए ।

मधेस सरकारमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र वीरेन्द्रप्रसाद सिंहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ भने नेकपा एकीकृत समाजवादीबाट गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बनेका छन् ।

मुख्यमन्त्री यादवले गृह सञ्चार तथा कानुन मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय भने अहिले पनि आफूसँगै राखेका छन् । गत २९ पुस २०७९ मा मुख्यमन्त्री यादवसँगै नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टीका सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहाले विनाविभागीय मन्त्रीको रुपमा शपथ लिएका थिए । मुख्यमन्त्री यादवले १२ माघमा विनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोकेका थिए ।

त्यस्तै, जसपाबाट गत २० माघमा सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाएकी सुरिता साह पनि मन्त्रालयविहीन बनेकी छन् । उनको जिम्मेवारी पछि तोकिने बताइएको छ । सामाजिक विकास राज्यमन्त्री शेख अबु कलाम आजाद र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री सञ्जयकुमार यादवलाई पनि मन्त्रालयविहीन बनाइएको छ । उनीहरूको जिम्मेवारी पनि पछि तोकिने भएको छ ।

मधेस प्रदेश सरकारको दोस्रो कार्यकालका लागि २९ पुस २०७९ मा शपथ लिएसँगै कार्यभार सम्हालेका मुख्यमन्त्री यादवलाई ४ माघमा बसेको प्रदेशसभा बैठकमा १०२ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए ।

१० दलमध्ये ७ दल र दुई स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा यादवलाई कांग्रेस, लोसपा र नेकपा एकीकृत समाजवादीले समर्थन गरेको थिएन । पछि लोसपाका ९ जना प्रदेशसभा सदस्यले पनि समर्थन दिँदा उनले ७२ सांसदको समर्थन पाएका थिए ।

त्यसपछि गत २१ चैतमा नेकपा एमालेबाट मधेस प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले मुख्यमन्त्री यादवसमक्ष राजीनामा बुझाएका थिए । मुख्यमन्त्रीको निर्देशनपछि एमालेबाट मधेस सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका थिए ।