काठमाडौं, १० जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतलाई पक्राउ गरी अनुसन्धान गर्न निवेदन परेको छ ।

नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पत्र पठाउँदै यस्तो निवेदन दिएका हुन् ।

अधिवक्तासमेत रहेका सफलले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएको भन्दै देउवा, ओलीलगायत भिभिआइपीलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न गृह मन्त्रीसमक्ष निवेदन दिएका हुन् ।

सो प्रकरणमा देउवाले प्रधानमन्त्री रहँदा ‘ग्रिन सिग्नल’ दिएको र ओलीले यो प्रकरणबारे सबै थाहा छ भनेको उल्लेख गर्दै उनीहरूलाई कानुनी दायरमा ल्याउन सफलले माग गरेका हुन् ।

निवदेनमा यो प्रकरणमा नाम जोडिएका नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवा र मञ्जु खाँण, पूर्वगृहमन्त्री राम बहादुर थापा बादलकी श्रीमती नैनकला थापा, बहालवाला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राई (तत्कालीन गृह सचिव), नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वकीय सचिव राजेश बज्राचार्य, वाग्मती प्रदेशसभाका पूर्वसांसद अजय क्रान्ति शाक्यसहितलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको छ ।

सफलले वर्तमान प्रहरी प्रमुख वसन्त कुवँरको नाम पनि यो प्रकरणमा जोडिएको भन्दै उनलाई आइजिपीबाट बर्खास्त गरी कारबाही गर्नसमेत माग गरेका छन् ।

यो प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । साथै, ३० जनाविरुद्ध विभिन्न मुद्दामा मुद्दा दर्ता गरिसकेको छ । यस प्रकरणमा नाम जोडिएका भिभिआइपीहरुमाथि अनुसन्धान नगरेको भन्दै सफलले गृहमन्त्रीलाई निवेदन दिएका छन् ।