क्षीरेश्वरनाथमा करारका कर्मचारीहरू बुधबारदेखि धर्नामा

जनकपुरधाम, १० जेठ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा कार्यरत करारका कर्मचारीहरु बुधबारदेखि धर्नामा बसेका छन् ।
नगरपालिकाले २०७४ सालपछि नियुक्त भएका करारका कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय गरेपछि उनीहरु धर्नामा बसेका हुन् ।
सोही पालिकामा विगत ६ वर्षदेखि कार्यरत करारका कर्मचारी जमिल अख्तरले राजनीतिक पूर्वाग्राही रुपमा आफूहरुमाथि विभेद भएको बताए । कार्यपालिकाले करारका कर्मचारीलाई करार अवधि नथपेपछि आफूहरु बाध्य भएर धर्नामा बसेको उनले बताए ।
उनले नगर प्रमुख सुखदेव यादव र प्रमुख प्रशासकिय अधिकृत सिवेन्द्र मण्डल मिलेर फरक आस्था भएका कर्मचारीलाई विनाकारण हटाइएकोप्रति ध्यानाकर्षण गराउँदै माग पूरा नभएसम्म धर्ना यथावत राख्ने बताए ।
बुधबार पहिलो दिन कर्मचारीहरु बिहान १० देखि ३ बजेसम्म धर्नामा बसेका थिए । बिहीबार भने बिहान १० देखि ४ बजेसम्म धर्नामा बस्ने उनले बताए ।

करार कर्मचारी सबैको नियुक्ति खारेज वा म्याद नथपिएका कर्मचारीको म्याद थप गर्नुपर्ने मागसहित ५४ जना कर्मचारीले धर्ना सुरु गरेका छन् ।
अख्तरले सो पालिकामा कार्यरत करारका कर्मचारीले विगत ११ महिनादेखि तलबबाट समेत बञ्चित रहेको सुनाए । त्यस्तै, पालिकाका ज्येष्ठ नागरिकहरुले पनि सामाजिक सुरक्षा भत्ताबापतको तेस्रो किस्ता रकम अहिलेसम्म पाएका छैनन् ।
यसअघि सोमबार करारका कर्मचारी एवम् ज्येष्ठ नागरिकहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


