जडीबुटीको उत्पादनमा जोड दिई विदेश निर्यातका लागि सहज बनाउँछु : मन्त्री महतो

काठमाडौं, १० जेठ । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतोले जडीबुटीको उत्पादनमा जोड दिई विदेश निर्यातका लागि सहज बनाउने बताएका छन् ।
बुधबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथग्रहण गरेसँगै सिंहदरबारमा पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कुहिए जाने काठलाई अब व्यवस्थित गर्ने कुरामा विशेष ध्यान दिने पनि बताए । उनले नेपालमा कुहिएर जाने काठको कानुनअनुसार विदेश निर्यात गर्ने वा स्वदेशमा नै खपत गर्न सक्ने वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाए । उनले वन मन्त्रालयमा रहेका हाइड्रोपावरका विषयमा अल्झिएका प्रक्रियाहरूलाई सहजीकरण गर्नेकुरामा आफ्नो ध्यान रहने बताए ।
उनले भने, ‘आर्थिक संकट विद्यमान छन्, त्यसलाई जस्तो यो जडिबुटीहरु थुप्रो संख्यामा उत्पादन गर्न सक्छौँ, त्यसलाई प्रोत्साहन गरी विदेशी पैसा भित्र्याउने । वातावरणमा असर पर्ने उद्योगहरू छन्, त्यसलाई सशर्त रूपमा निगरानी गरी वातावरणमा असर नपर्ने गरी प्रयोगमा ल्याउने हो । म मन्त्रालयमा रहुन्जेल, भ्रष्टाचारमा शून्य सहनशीलता कुनै किसिमको लोभ प्रलोभनमा काम गर्दिन। देश र जनताको हितमा काम गर्नेछु ।’
मन्त्री महतोले वातावरणमा असर गर्ने उद्योगहरूलाई निगरानी गरी कुनै असर नपर्ने गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाए । उनले आफू मन्त्रालयमा रहुन्जेलसम्म भ्रष्टाचार हुन नदिने र कुनै प्रलोभनमा परेर काम नगर्ने प्रतिबद्धता व्यक्त गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


